मलेसिया र अमेरिका पठाइदिन्छु १७ लाख ठगी गर्ने नविन लामा र रमेश रेउले पक्राउ 


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका– १२ घर भएका नविन लामा र सल्यान शारदा नगरपालिका– २ घर भएका ५० वर्षीय रमेश रेउले रहेका छन्।  

पक्राउ मध्ये नविनले मलेसिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १४ लाख रुपैयाँ र रमेशले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नविनलाई काठमाडौं महानगरपालिका– २६ बाट र रमेशलाई काठमाडौं महानगरपालिका–२९ बाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।