प्रहरी हेडक्वार्टरमाथि बिचौलियाको कब्जा भएको खगेन्द्र सुनारको आरोप 


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाले प्रहरी प्रधान कार्यालय कब्जा गरेको आरोप लगाएका छन्। बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा उनले प्रहरीका स्रोत–साधन खरिदमा अनियमितता भइरहेको दाबी गर्दै समितिले मागेका खरिदसम्बन्धी कागजात उपलब्ध भए–नभएको जानकारी मागे।

समितिले यसअघि प्रहरीको स्रोत–साधन खरिदसम्बन्धी कागजात १५ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको थियो। तर, उक्त समयभित्र कागजात प्राप्त भए–नभएकोबारे सुनारले प्रश्न गरे। ‘हामीले १५ दिनभित्र प्रहरीको स्रोत–साधन खरिदको विषयमा जानकारी पेस गर्न भनेका थियौँ। त्यो आयो कि आएन? फेरि यही बिचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ। निश्चित बिचौलियाले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्,’ उनले भने।

यसअघि समितिमा आफूले उठाएको प्रश्नमा आफू अडिग रहेको बताउँदै सुनारले आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएको भए कानुनी प्रक्रियामा जान चुनौती दिए। ‘मैले अस्ति उठाएको प्रश्नमा म अडिग छु। कसैलाई मानमर्दन भएको लागेको छ भने अदालत गएर मुद्दा हाल्नुस्, म कठघरामा उभिएर जवाफ दिन तयार छु,’ उनले भने।

समितिको बैठकमा सांसदलाई धम्क्याउने वा घेराबन्दी गर्ने व्यवहार स्वीकार्य नहुने उनको भनाइ थियो। भ्रष्टाचार र अनियमितताको छानबिनका क्रममा प्रश्नहरू निर्मम, गम्भीर र गहिरो हुनुपर्ने उनले बताए। यसअघि प्रहरीको पोसाक खरिदमा अनियमितताको विषयलाई लिएर सुनार र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच समितिको बैठकमै विवाद भएको थियो।