पूँजीबजारमा नयाँ प्रडक्ट ल्याएर उत्साह बढाउनुपर्छ : सेबोन अध्यक्ष भट्ट


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेपालको पूँजीबजारमा नयाँ प्रडक्ट तथा उपकरण ल्याएर बजारमा उत्साह बढाउनुपर्ने बताएका छन्। स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको आयोजनामा यही भदौ ३ गते आयोजित नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर्स एसोसिएसनबीचको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष भट्टले पूँजीबजारको विकासका लागि नयाँ प्रडक्ट ल्याउनुपर्ने बताएका हुन्।

अध्यक्ष भट्टले सेबोनले अब क्यास अथवा क्रेडिट कारोबारसम्बन्धी नीति अवलम्बन गर्ने बताए। आउँदै गरेको मार्जिन कारोबारले हालको क्रेडिट कारोबारलाई थप व्यवस्थित र सुधार गर्ने उनको भनाइ थियो। सेबोनले पूँजीबजारसँग सम्बन्धित विभिन्न मार्गदर्शन जारी गर्ने तयारी गरिरहेको जानकारी दिँदै अध्यक्ष भट्टले त्यस्ता मार्गदर्शनमा लगानीकर्ताको हित संरक्षण, जोखिममा आधारित नियमन तथा पूँजीबजारमा संस्थागत सुशासन कायम गर्ने विषयलाई प्राथमिकता दिइने बताए। उनले प्राथमिक तथा दोस्रो बजारमा समेत आवश्यक सुधार गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमको सभापतित्व गरेका स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले स्वागत मन्तव्य दिँदै नेपाल धितोपत्र बोर्डसँग सम्बन्धित २०–२२ वर्ष पुराना ऐन तथा कानुनलाई समयअनुकूल परिमार्जन गर्नुपर्ने बताए। अध्यक्ष ढकालले सेबोनमा नयाँ नेतृत्व आएपछि आफूहरूले कल्पना गरेभन्दा बढी काम भएको बताए। उनले लगानीकर्ताको कारोबारलाई थप सहज बनाउन सेबोनले ‘अटो ईडीआईएस’को व्यवस्था ल्याउनुपर्ने सुझावसमेत दिए।

कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष नितेश कुमार अग्रवालले पूँजीबजार विकाससम्बन्धी मार्गचित्र प्रस्तुत गरेका थिए। कार्यक्रमको समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघको पूँजीबजार फोरमका सभापति तथा पूर्वअध्यक्ष प्रियराज रेग्मीले सेबोनका अध्यक्षको धारणा स्पष्ट रूपमा बुझिएको भन्दै सोहीअनुसार सबै पक्ष अघि बढ्नुपर्ने बताए।

रेग्मीले शेयर बजारमा सबैभन्दा ठूलो कुरा लगानीकर्ता र लगानीकर्ताको विश्वास भएको उल्लेख गर्दै बजारप्रति विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। उनले ब्रोकर व्यवसायलाई अब आधुनिक र सम्मानित व्यवसायका रूपमा विकास गर्नुपर्ने बताए। कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्षसहित सम्पूर्ण व्यवस्थापन टोली तथा ८० भन्दा बढी ब्रोकर कम्पनीका प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन एसोसिएसनका महासचिव भक्तिराम घिमिरेले गरेका थिए।