एनसीसीसँगको मर्जरपछि थलिएको कुमारी बैंक, ४ वर्षपछि लयमा फर्किँदै गर्यो ७ अर्ब मुनाफा


काठमाडौं – पछिल्लो चार वर्षयता बढ्दो खराब कर्जा र उच्च प्रोभिजनिङको चुनौती खेपेको कुमारी बैंक पुनः लयमा फर्किन थालेको छ। चार वर्ष अघि नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) सँग मर्जरमा गएदेखि लगातार ओरालो यात्रामा रहेको बैंक बिस्तारै लयमा फर्किन थालेको हो। 

बैंकले गत आर्थिक वर्षको वित्तीय विवरणमा उल्लेखनीय सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरणले बैंकको सूचकमा सुधार आएको देखिएको हो। विवरणअनुसार बैंकको नाफा, वितरणयोग्य नाफा, खराब कर्जा व्यवस्थापन र सञ्चित आम्दानीमा देखिएको सुधारले बैंकको अवस्था बलियो बन्दै गएको देखिएको हो।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब बढी नाफा आर्जन गरेको छ। जबकि बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब नाफा कमाएको थियो। कुमारीले गत वर्ष ७ अर्ब ३८ करोड ७१ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा भने बैंकले १ अर्ब ८१ करोड ९६ लाख खुद नाफा कमाएको थियो। यता, कुमारीले आर्थिक वर्ष २०८०/८१ मा ४६ लाख मात्रै नाफा आर्जन गरेको थियो। २०७९/८० मा कुमारी बैंकले १ अर्ब ९५ करोड नाफा आर्जन गरेको थियो।

चार आर्थिक वर्षमा कुमारी बैंकले आफ्नो अवस्थालाई सुधारेको हो। एनसीसीसँग मर्जरमा गएपछि २०७९/८० देखि लगातार कुमारीको सञ्चित नोक्सानीमा थियो। जस कारण कुमारीले ३ आर्थिक वर्षमा कुनै पनि लाभांश दिन सकेको थिएन। शेयरधनीका लागि वास्तविक महत्त्व वितरणयोग्य नाफाको हुन्छ। विगतमा कुमारी बैंकको वितरणयोग्य नाफामा परेको दबाबले लाभांश क्षमतामा समेत असर पारेको थियो।

तर, गत आर्थिक वर्षमा बैंकले लाभांश बाँड्ने क्षमता समेत बढाएको छ। कम्पनीको वित्तीय सूचक सुधार हुँदै जाँदा वितरणयोग्य नाफा पनि सकारात्मक छ। गत वर्षको अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७९ करोड १६ लाख रहेको छ। अघिल्लो आर्थिक वर्षमा भने बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८४ करोडले ऋणात्मक थियो। विगतमा कर्जाको गुणस्तरमा आएको दबाबसँगै खराब कर्जा बढ्दा बैंकले ठुलो रकम प्रोभिजनिङमा छुट्याउनुपरेको थियो।

यसको प्रत्यक्ष असर खुद नाफामा परेको थियो। नाफा घट्दा शेयरधनीलाई वितरण गर्ने नाफामा समेत दबाब परेको थियो। तर, गत आर्थिक वर्षमा बैंकले खराब कर्जा व्यवस्थापनमा सुधार गर्दै प्रोभिजनिङको दबाब कम गरेको छ। त्यससँगै सञ्चालन आम्दानी र खुद नाफामा सुधार आएको छ। गत वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ४ करोड ८८ लाख, कुल सञ्चालन आम्दानी १६ अर्ब ३५ करोड ८४ लाख र सञ्चालन नाफा ११ अर्ब २३ करोड ५५ लाख रहेको छ। 

खराब कर्जा व्यवस्थापन मुख्य चुनौती

कोरोनादेखि लागातार रुपमा बैंकहरुको कर्जाको गुणस्तर खस्किदो छ। पुरै बैंकिङ्ग क्षेत्रमा कर्जाको गुणस्तर प्रमुख चुनौतीका रूपमा देखिँदा कुमारी बैंक पनि त्यसबाट अछुतो रहन सकेन। फलस्वरूप चार वर्षको अवधिमा बैंकको खराब कर्जा दरमा पनि उत्तिकै उतारचढाव देखिए। बैंकको खराब कर्जा बढ्ने क्रम अझै पनि रोकिएको छैन। अघिल्लो वर्ष ६.९५ प्रतिशत रहेको खराब कर्जा अनुपात गत आर्थिक वर्षमा बढेर ७.४६ प्रतिशत पुगेको छ।

२०८१/८२ मा बैंकको खराब कर्जा ६.४२ प्रतिशत रहेको थियो। उता २०८०/८१ मा कुल कर्जामा खराब कर्जाको ५.९६ प्रतिशत थियो। बैंकले नै सार्वजनिक गरेको विवरण हेर्दा पनि बैंकको खराब कर्जाको दर भने लगातार बढिरहेको छ। बैंकको खराब कर्जा बढ्दा सम्भावित कर्जा नोक्सानीका लागि प्रोभिजन बढ्न जान्छ। जसको प्रत्यक्ष असर नाफामा पर्छ। जस कारण बैंकले खराब कर्जाको व्यवस्थापनमा जोड दिनुपर्ने देखिएको छ।

कुमारीले गत वर्ष खराब कर्जा बढ्दा पनि विगतमा छुट्याइएको सम्भावित कर्जा नोक्सानी व्यवस्थाबाट १ अर्ब ४३ करोड ९९ लाख राइट ब्याक गरेको छ। बैंकले प्रोभिजन राइट ब्याक गर्दा पनि नाफामा सुधार आएको हो। अघिल्लो वर्ष बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ प्रोभिजनिङमा खर्च गरेको थियो। हाल बैंकले प्रोभिजनका लागि करिब २ अर्ब छुट्याएको छ।

गत वर्षको अन्य सूचक कस्ता ? 

बैंकको ब्याज आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो। अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ६२ करोड खुद ब्याज आम्दानी गरेको बैंकले गत वर्ष १२ अर्ब १ करोड बराबर खुद ब्याज आम्दानी गरेको हो। हाल बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रहेको छ भने बैंकको जगेडा कोषमा १८ अर्ब ५६ करोड ८२ लाख सञ्चित छ। असार मसान्तसम्ममा बैंकले ४ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। नाफा बढ्दा बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ १७ पैसा पुगेको छ।

यस्तो छ कुमारीको अबको चुनौती

अधिकांश सूचक सबल देखिँदा पनि बैंक व्यवस्थापन समक्ष विभिन्न किसिममा चुनौतीहरू देखिएका छन्। बैंकका लागि खराब कर्जा थप नियन्त्रणमा ल्याउने, कर्जा असुली बढाउने, प्रोभिजनिङको दबाब घटाउने र गुणस्तरीय व्यवसाय विस्तार गर्ने चुनौती अझै कायम छ। बैंकले पनि सञ्चालन लागतलाई उचित स्तरमा कायम राख्नु अहिलेको चुनौती रहेको प्रष्ट्याएको छ। सञ्चालन दक्षता सुधार गरी अन्तर्निहित जोखिम न्यूनीकरण गर्नु तथा निष्क्रिय कर्जा व्यवस्थापन गर्नु बैंकको मुख्य चुनौती हो।