काठमाडौं – उपभोक्ता अदालतले कतार एयरवेजको विमानभित्र अत्यधिक तातो कफी पोखिएर घाइते भएकी प्रिती थापालाई २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ। उपभोक्ता अदालतका अध्यक्ष दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले थापालाई उक्त क्षतिपूर्ति उपलब्ध गराउन फैसला गरेको हो।
थापाले कतार एयरवेजको अधिकारप्राप्त टिकट एजेन्सी प्रोफिसिएन्ट ट्राभल्स प्रालिमार्फत २०२३ मे २६ मा कतार एयरवेजको दुईतर्फी हवाई टिकट खरिद गरेकी थिइन्। उक्त टिकटअनुसार उनले २०२३ जुन १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अमेरिकाको एडवर्ड एल लोगन अन्तर्राष्ट्रिय विमानस्थलसम्म यात्रा गरेकी थिइन्।
फर्किने क्रममा २०२३ जुलाई १० मा बोस्टनस्थित एडवर्ड एल लोगन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानमार्फत नेपाल आउने क्रममा चालक दलका सदस्यले अत्यधिक तातो कफी दिँदा कफी आफ्नो पेट, तिघ्रा लगायत संवेदनशील अङ्गमा पोखिएर गम्भीर जलन भएको थापाको दाबी छ।
कफी पोखिएपछि आफूलाई असह्य पीडा भएको र विमानमै जलनको प्राथमिक उपचारका लागि औषधि तथा आवश्यक सामग्री माग्दा त्यस्तो सामग्री उपलब्ध नभएको जवाफ पाएको थापाले बताएकी थिइन्। त्यसपछि जलनको पीडामै थप ३–४ घण्टा हवाई यात्रा गर्नुपरेको उनको दाबी थियो।
थापाले उक्त घटनाबाट आफूलाई शारीरिक तथा मानसिक पीडा भएको भन्दै क्षतिपूर्तिको मागसहित उपभोक्ता अदालतमा मुद्दा दायर गरेकी थिइन्। अदालतले सुनुवाइपछि २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको हो।
अन्तर्राष्ट्रिय हवाई परिवहन सम्बन्धी ‘मोन्ट्रियल महासन्धि १९९९’ र नेपालको ‘उपभोक्ता संरक्षण ऐन २०७५’ लाई मुख्य आधार मानेर अदालतले मोन्ट्रियल महासन्धिको धारा १७ र २१ अनुसार, विमानभित्र वा विमानमा चढ्ने–ओर्लने क्रममा यात्रुलाई शारीरिक चोट पुगेमा त्यसको जिम्मेवारी विमान कम्पनीले लिनुपर्ने फैसला गरेको छ।






About Us
प्रतिक्रिया