मार्जिन ऋण कारोबार नियमावलीको मस्यौदा तयार, बोर्डले माग्यो सुझाव


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मार्जिन ऋण कारोबार नियमावलीको मस्यौदा तयार पारेको छ। सेबोनले पुँजी बजारको गुणात्मक विकासका दृष्टिले अझै नयाँ चरणमा प्रवेश गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट रूपमा देखाउँदै पुँजी बजारको विकास तथा विस्तारका लागि तयार पारिएको ‘मार्जिन ऋण कारोबार नियमावली’ को मस्यौदामा सरोकारवालाहरूबाट राय तथा सुझाव माग गरेको हो।

बोर्डका अनुसार मार्जिन लेण्डिङ्ग, इन्ट्राडे कारोवार, धितोपत्र सापटी तथा उधारो र आवरणयुक्त शर्ट सेलिङ्ग प्रणालीको कार्यान्वयनबाट नेपालको पूँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुरूप विकास गर्न बोर्ड अग्रसर रहेको जनाएको छ। जसमा पहिलो चरणमा मार्जिन लेण्डिङ्ग प्रणालीको संरचना मार्फत् योग्य लगानीकर्तालाई स्वःपूँजी एवं धितोपत्र दलाल व्यवसायीसँग ऋण लिई लगानी गर्ने अवसर उपलब्ध गराउन बोर्डले मार्जिन ऋण कारोवार (मार्जिन लेण्डिङ्ग) नियमावलीको मस्यौदा गरेको हो।

उक्त मस्यौदामा सेबोन, नेपाल स्टक एक्सचेन्ज (नेप्से) एण्ड क्लियरिङ्ग लिमिटेड र स्टक ब्रोकर एशोसियशन अफ नेपालका प्रतिनिधि सम्मिलित धितोपत्रको दोश्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न गठित समितिमा छलफल भई समितिले आवश्यक परिमार्जन सहित तयार गरेको मस्यौदा सरोकारवालाहरूको राय–सुझाबका लागि सार्वजनिक गरेको बोर्डले जनाएको छ। बोर्डले यस विषयमा सरोकारवाला पक्षहरूबाट प्राप्त राय तथा सुझावको अध्ययन गरी मार्जिन ऋण कारोवार नियमावलीलाई अन्तिम रुप दिने जनाएको छ। यसका लागि सम्बन्धित सबै सरोकारवालालाई बोर्डको इमेलमा आफ्ना सुझावहरू राख्न आग्रह समेत गरेको छ।