काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल रेडक्रस सोसाइटीका लागि भक्तपुरमा जग्गा खरिद गर्दा आर्थिक अनियमितता र ठगी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रेडक्रसका पूर्व अध्यक्ष सञ्जीव थापा, राजेश देशमरु, उमेशप्रसाद ढकाल, मदनकृष्ण फोजु र इन्द्रबहादुर केसी रहेका छन्।
सीआईबीका अनुसार रेडक्रसको गोदाम घर निर्माण गर्न २०७३ सालमा भक्तपुर नगरपालिका–४ (क) मा पाँच रोपनी १३ आना तीन पैसा जग्गा खरिद गर्ने सम्झौता भएको थियो। जग्गा खरिदका लागि रेडक्रसले कुल ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरेको थियो। तर, बोलपत्रको सर्त विपरीत बिचौलिया मार्फत जग्गा खरिद गरी एक करोड ९३ लाख ७५० रुपैयाँ बिचौलियाले लिएको खुल्न आएको छ।
साथै, खरिद गरिएको जग्गाको नापी कार्यालय भक्तपुरबाट क्षेत्रफल यकिन गराउँदा फिल्डमा क्षेत्रफल पाँच रोपनी १३ आना तीन पैसा उल्लेख भएता पनि नापजाँचका क्रममा पाँच रोपनी छ आना दुई पैसा एक दाम मात्र देखिएको थियो।
रेडक्रशलाई हानी नोक्सानी गराई ठगी गरेको आरोपमा भक्तपुर जिल्ला अदालत भक्तपुरबाट पक्राउ गरी अनुसन्धान गर्नको अनुमति लिई उनीहरूलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको सीआईबीले जनाएको छ।






About Us
प्रतिक्रिया