साउनमा काठमाडौंमा ९९७ उजुरी, आर्थिक अपराधका मात्रै ४३९

'जरिवाना रकम ११ करोड १६ लाख ५९ हजार रुपैयाँ'


काठमाडौं – काठमाडौंमा साउन महिनामा विभिन्न प्रकृतिका कसुरसम्बन्धी ९९७ वटा उजुरी दर्ता भएका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार आर्थिक अपराधसम्बन्धी मात्र यस एक महिनामा  ४३९ वटा उजुरी परेका छन्। 

त्यसैगरी, चोरीसम्बन्धी कसुरका १२२ वटा उजुरी दर्ता भएका छन्। एक महिनामा साइबर अपराधसम्बन्धी १३६ वटा उजुरीसमेत प्रहरीमा परेको छ। साउनमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा मुद्दा दर्ता भएको छ। उक्त मुद्दामा तीन जना प्रतिवादी रहेका छन् भने १ करोड १५ लाख ७० हजार रुपैयाँ बिगो कायम गरिएको छ।

त्यस्तै, काठमाडौंमा साउन मा हुण्डीसम्बन्धी एउटा मुद्दा पनि दर्ता भएको छ। उक्त मुद्दामा एक जना प्रतिवादी रहेका छन् भने ८१ लाख १४ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।

यसैबीच, काठमाडौं प्रहरीले एक महिनाको अवधिमा फैसला कार्यान्वयनतर्फ ४३५ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको कुल कैद अवधि ८२ वर्ष ७ महिना रहेको प्रहरीले जनाएको छ। फैसला कार्यान्वयनअन्तर्गत पक्राउ परेकाहरूबाट असुल गर्नुपर्ने जरिवाना रकम ११ करोड १६ लाख ५९ हजार रुपैयाँ पुगेको छ।