राष्ट्र बैंकमा सुन धितो राखेर पैसा लिएको भनेपछि ट्रोलको सिकार बनिन् रञ्जु दर्शना


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शना यति बेला ट्रोलको सिकार बनेकी छिन् । नेपाल राष्ट्र बैंकमा धितो राखेको सुन लुटिएका पीडितको माग सम्बोधन गर्न भनेपछि उनी ट्रोलको सिकार बनेकी हुन् ।

हिजो अर्थात् भदौ २ गत बसेको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले राष्ट्र बैंकमा सुन धितो राखेर ऋण लिएका नागरिकहरू आन्दोलनका क्रममा सुनसमेत लुटिएपछि समस्यामा परेको र पीडितहरूले न आफ्नो सुन फिर्ता पाएको न त्यसको मूल्य प्राप्त गर्न सकेको भन्दै उनले उनीहरूको समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने उनले बताइन् ।

तर, दर्शनाको उक्त भनाइपछि सामाजिक सञ्जालमा उनको तीव्र आलोचना र ट्रोल बनिरहेको छ । धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपाल राष्ट्र बैंकमा सर्वसाधारणले सुन धितो राखेर कर्जा लिन मिल्ने वा नमिल्ने विषयमा प्रश्न उठाउँदै उनको भनाइको व्यङ्ग्यात्मक रूपमा टिप्पणी गरिरहेका छन्। कतिपयले उनको भनाइ तथ्यसँग नमिलेको भन्दै आलोचना गरेका छन् भने केहीले उक्त अभिव्यक्तिलाई लिएर विभिन्न ट्रोल र व्यङ्ग्यात्मक सामग्रीसमेत सार्वजनिक गरेका छन्।

‘गत भदौ २४ गते भएको घटनामा सुनसमेत लुटिएपछि पीडितहरूले न आफ्नो सुन फिर्ता पाएका छन्, न त्यसको मूल्य प्राप्त गरेका छन्। उनीहरूको गुनासो सुनिदिनुपर्छ,’ उनले संसद्मा भनिन्। तर, जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकबाट सुन लुटिएको थियो ।

राष्ट्र बैंक केन्द्रीय बैंक भएकाले सर्वसाधारणले सुन धितो राखेर व्यक्तिगत कर्जा लिने व्यवस्था छैन । सुन धितो कर्जा भने वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाबाट लिने व्यवस्था छ। सांसदलाई समेत राष्ट्र बैंकको कामको बारेमा सामान्य जानकारी नभएको भन्दै विभिन्न टिप्पणी भइरहेको छ ।