कैलालीबाट भन्सार छली ल्याएको २१ लाखको सुनसहित दीपक गौर पक्राउ


काठमाडौं – कैलालीबाट भन्सार छली गरी ल्याएको ८१ ग्राम ८८० मिलिग्राम सुनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ बस्ने ३६ वर्षीय दीपक गौर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले दीपक गौरले अवैध सुन कारोबारका लागि साथमा बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा धनगढी उपमहानगरपालिका–१ स्थितबाट उनलाई फेला पारेको थियो।खानतलासी गर्दा उनको खल्तीबाट ८१ ग्राम ८८० मिलिग्राम तौल भएको सुन बरामद भएको हो। बरामद सुनको  मूल्य २१ लाख ६२ हजार १२३ रुपैयाँ बराबर रहेको छ।

गौरको साथबाट ‘निलो सुन चाँदी गहना पसल’को नाममा रहेको बिलसमेत फेला परेको थियो। उक्त बिलमा छाप नरहेको र बरामद पदार्थको स्रोतसमेत खुलाउन नसकेपछि भन्सार छली गरी ल्याएको उक्त सुन बरामद गरिएको हो। बरामद सुनसहित गौरलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय, त्रिनगरमा बुझाइएको प्रहरीले जनाएको छ।