काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शना (न्यौपाने)ले जेनजी आन्दोलनका क्रममा बैंकमा धितो राखेको सुन लुटिएका पीडितहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद न्यौपानेले नेपाल राष्ट्र बैंकमा सुन धितो राखेर ऋण लिएका नागरिकहरू आन्दोलनका क्रममा सुनसमेत लुटिएपछि समस्यामा परेको बताइन्। पीडितहरूले न आफ्नो सुन फिर्ता पाएको न त्यसको मूल्य प्राप्त गर्न सकेको भन्दै उनले उनीहरूको समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने बताइन्।
‘गत भदौ २४ गते भएको घटनामा सुनसमेत लुटिएपछि पीडितहरूले न आफ्नो सुन फिर्ता पाएका छन्, न त्यसको मूल्य प्राप्त गरेका छन्। उनीहरूको गुनासो सुनिदिनुपर्छ,’ उनले संसद्मा भनिन्।
सांसद न्यौपानेले सोही क्रममा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको विषयसमेत संसद्मा उठाइन्। स्वास्थ्य बीमा सेवा रोकिँदा सर्वसाधारण उपचारबाट वञ्चित भएको भन्दै जुनसुकै उपाय अपनाएर भए पनि कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सरकारसँग माग गरिन्।
सत्तारुढ दलकी सांसदले नै बैंकमा धितो राखेको सुन लुटिएका पीडित र स्वास्थ्य बीमाबाट प्रभावित नागरिकको समस्या संसद्मा उठाएपछि सरकारको सेवा प्रवाह तथा नागरिकका समस्या सम्बोधन गर्ने विषयमा प्रश्न उठेको छ।






About Us
प्रतिक्रिया