रास्वपाकै सांसदको सरकारलाई प्रश्न– ग्यासको समस्या छैन भन्ने, जनता किन लाइनमा ?


काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मोहनलाल आचार्यले बजारमा देखिएको खाना पकाउने ग्यासको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद आचार्यले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले सदनमा दिएको जानकारी र बजारको वास्तविक अवस्था फरक रहेको बताए।

सांसद आचार्यले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले केही समयअघि सदनमा ग्यासको कुनै समस्या नरहेको बताए पनि उपभोक्ताले अझै ग्यासको अभाव र सास्ती भोगिरहेको उल्लेख गरे। ‘उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीले केही समयअघि सदनमा आएर ग्यासको कुनै समस्या छैन भन्नुभएको थियो, तर व्यवहारमा अझै पनि उपभोक्ताले ग्यासको समस्या भोगिरहेका छन्,’ सांसद आचार्यले भने।

सांसद आचार्यले ग्यास आपूर्तिलाई सहज बनाउन सरकारले लिएको योजना स्पष्ट पार्न माग गरे। उनले खाना पकाउने ग्यासको विकल्प तथा विद्युतीय ऊर्जाको प्रयोगलाई प्रभावकारी बनाउने विषयमा पनि सरकारको धारणा मागे। ‘ग्यास कसरी उपलब्ध गराउने ? यसको विकल्प के हो ? विद्युतीय सामग्रीको प्रयोगलाई कसरी प्रभावकारी बनाउने भन्ने लगायतका विषयमा सरकारको जवाफ चाहियो,’ सांसद आचार्यले भने।

मन्त्रीले सदनमा ग्यासको समस्या नरहेको बताइरहँदा उपभोक्ताले भने समस्या भोगिरहनु विडम्बनापूर्ण भएको भन्दै आचार्यले तत्काल समाधानका उपाय खोज्न सरकारलाई आग्रह गरे।