काठमाडौं – मोटरसाइकलमा हुइँक्याउँदै महिला तथा ज्येष्ठ नागरिकलाई निशाना बनाई सुनको सिक्री लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरका योगेन्द्र तामाङ (मोटरसाइकल चालक) रामेछापका काले भन्ने देवेन्द्र थापा मगर (सिक्री तान्ने), भोजपुरका मिलन बिक (चोरीको सुन किन्ने) र भारतको कलकत्ता वेष्ट बंगालका संजित साम्नत (चोरीको सुन किन्ने) रहेका छन्।
प्रहरीका अनुसार, उनीहरू गत असार २६ मा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१, लोकन्थलीस्थित बिगमार्ट र असार ३० गते हनुमान चोक आसपास मोटरसाइकलमा सवार दुई जनाले बाटोमा पैदल हिँडिरहेको क्रममा महिला तथा ज्येष्ठ नागरिकहरूलाई निशाना बनाई चोरी गरेर फरार भएका थिए। सोही घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त सातदोबाटो, ललितपुर पठाइएको प्रहरीले जनाएको छ। साथै, उनीहरूले साउन २२ गते सुनसरीको धरान उपमहानगरपालिका– १५ पाथीभरा लाइनस्थित पैदल यात्रीको करिब २.५ तोला सुनको सिक्री लुटेको खुल्न आएको छ। साथै, साउन ३१ गते सुनसरी इटहरी उपमहानगरपालिका– २० तरहरास्थित पैदल यात्रीको ३ तोला सुनको सिक्री लुटेको खुल्न आएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया