काठमाडौं- इन्टरनेसनल जोसेफ स्कुलले काठमाडौंमा आयोजित जेसिआई यू–१६ गल्र्स टी–वान रग्बी प्रतियोगिताको उपाधि जितेको छ। बुढानीलकण्ठ नगरपालिकाको बालुवाखानीस्थित कपअन स्पोर्ट्स सेन्टरमा सोमबार सम्पन्न फाइनल खेलमा इन्टरनेसनल जोसेफ स्कुलले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २–० ले पराजित गर्दै उपाधि हात पारेको हो।
एकदिने प्रतियोगितामा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गरेका थिए। नेपाल विद्यालय रग्बी कमिसनका अध्यक्ष दीपक अधिकारीका अनुसार विद्यालय तहमा महिला रग्बीको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिताको उद्घाटन एसिया रग्बीका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव टंकलाल घिसिङले गरेका थिए। कार्यक्रममा नेपाल रग्बी संघका अध्यक्ष डा. दीपक देवकोटा, वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी तथा महासचिव गोविन्द घिमिरेलगायतको उपस्थिति थियो।
जेबी स्कुल प्रतियोगितामा तेस्रो स्थानमा रह्यो। तेस्रो स्थानका लागि भएको खेलमा जेबी स्कुल र जोसेफ हाई स्कुलबीच निर्धारित तथा थप समयसम्म पनि बराबरी भएपछि क्वाइन टसबाट जेबी स्कुल विजयी भएको थियो। त्यसअघि तेस्रो स्थानको खेलमा जेबी स्कुलले जोसेफ हाई स्कुललाई १–० ले पराजित गरेको थियो। उपाधि विजेता इन्टरनेसनल जोसेफ स्कुलले ७ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्यो। उपविजेता ओडिसी इन्टरनेसनल एकेडेमीले ५ हजार तथा तेस्रो भएको जेबी स्कुलले ३ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाए।
प्रतियोगिताको उत्कृष्ट खेलाडी (बेस्ट प्लेअर) जोसेफ स्कुलकी डोल्मु लामा घोषित भइन्। उनलाई प्रतियोगिताका अतिथिहरूले ट्रफी प्रदान गरेका थिए। पुरस्कार वितरण कार्यक्रममा जेसीआई नेपालका २०२६ का राष्ट्रिय अध्यक्ष तथा जेसीआई सिनेटर जीवन कार्की, नेपाल रग्बी संघका अध्यक्ष डा. दीपक देवकोटा र नेपाल विद्यालय रग्बी कमिसनका अध्यक्ष दीपक अधिकारीलगायतको उपस्थिति थियो।
समापन समारोहमा नेपाल रग्बी संघ तथा नेपाल स्कुल रग्बी आयोगका बोर्ड सदस्यहरूको पनि सहभागिता रहेको थियो।आयोजकका अनुसार प्रतियोगिताले विद्यालय तहमा महिला रग्बीको विकाससँगै नयाँ तथा युवा खेलाडीको प्रतिभा पहिचान र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ






About Us
प्रतिक्रिया