करदाता प्रोत्साहन पुरस्कार: ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख


काठमाडौं – साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। बम्पर उपहारतर्फ गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँ जितेका हुन्।

आन्तरिक राजस्व विभागले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने तथा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रमअन्तर्गत उपभोक्ताले सामान तथा सेवा खरिद गर्दा प्राप्त गरेको विद्युतीय बिल (ई–बिल) वा अन्य मान्य बिलका आधारमा विभिन्न उपहार जित्ने अवसर पाउने व्यवस्था गरिएको छ।