प्रधानमन्त्रीलाई जवाफ दिन सभामुखको निर्देशन


काठमाडौं – सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिएका छन्। भदाै १ गते सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर प्रश्नहरूको जवाफ नदिएसम्म संसद् सञ्चालन हुन नदिने अडान लिएपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई जवाफ दिन निर्देशन दिएका हुन्।

बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने र जनप्रतिनिधिहरूले उठाएका जिज्ञासा तथा प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने माग गरेका थिए। विपक्षीको अवरोधपछि केही समय सदनको कार्यवाही प्रभावित बनेको थियो।

त्यसपछि सभामुख अर्यालले संसद्को गरिमा र संसदीय अभ्यासलाई ध्यानमा राख्दै प्रधानमन्त्रीलाई सदनमा उठेका विषयमा जवाफ दिन निर्देशन दिएका हुन्। सभामुखको निर्देशनपछि प्रधानमन्त्रीले संसद्मा धारणा राख्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीको जवाफपछि मात्र सदनको नियमित कार्यसूची अगाडि बढाउने विषयमा दलहरूबीच छलफल जारी रहेको बताइएको छ। प्रधानमन्त्रीको संसद् उपस्थितिलाई लिएर सत्ता पक्ष र विपक्षी दलबीच केही दिनयता विवाद हुँदै आएको छ।