ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति


काठमाडौं – नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्‍याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। चेम्बरले होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगका लागि सकारात्मक नभएको जनाएको हो।

हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल आयल निगमको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दात बढी रहेको पाइएको भनी सार्वजनिक टिप्पणी गरिएको थियो। त्यसप्रति प्रतिक्रिया जनाउँदै चेम्बरले पाँचतारे होटलमा दैनिक करिब ५० देखि ६० वटासम्म ग्यास सिलिन्डर खपत हुनु स्वाभाविक रहेको स्पष्ट पारेको छ।

चेम्बरका अनुसार होटलमा करिब २०० हाराहारी ग्यास सिलिन्डर मौज्दात रहनु पनि होटलको सञ्चालनको आकार र दैनिक खपतलाई हेर्दा अस्वाभाविक मान्न मिल्दैन। व्यावसायिक प्रयोगका लागि आवश्यक मौज्दातलाई मात्र आधार बनाएर त्यसलाई अस्वाभाविक वा गैरकानुनी गतिविधिसँग जोडेर निष्कर्ष निकाल्नु उपयुक्त नहुने चेम्बरको भनाइ छ।

नेपाल चेम्बर अफ कमर्सले कृत्रिम अभाव, अवैध कारोबार तथा कानुनविपरीतका कुनै पनि गतिविधिको समर्थन नगर्ने स्पष्ट पारेको छ। तर, वैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई हतोत्साहित गर्ने गरी गरिने अतिरञ्जित प्रचारले लगानीको वातावरणमा नकारात्मक असर पार्न सक्ने भएकाले सम्बन्धित सबै पक्ष संवेदनशील हुनुपर्ने चेम्बरले जनाएको छ।