नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो


काठमाडौं – नेपाल टेलिकमको खुद मुनाफा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा ४७.५८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ। जारी वित्तीय विवरणअनुसार कम्पनीले यो अवधिमा ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। आव २०८१/८२ को सोही अवधिमा टेलिकमको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो आवको तुलनामा ३.१२ प्रतिशत अर्थात् १ अर्ब ५ करोड ५९ लाख रुपैयाँले बढी हो। यस्तै, टेलिकमको कुल आय पनि २.६५ प्रतिशतले बढेर ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको कर अघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ३४.६६ प्रतिशतको वृद्धि हो। यस अवधिमा कम्पनीको ब्याज, कर, ह्रास र अमोर्टाइजेसन अघिको आम्दानी (इबिट्डा) २० अर्ब ४८ करोड १ लाख रुपैयाँ रहेको छ। हाल कम्पनीको प्रति सेयर आम्दानी ४९ रुपैयाँ २५ पैसा छ।

वित्तीय विवरण अनुसार कम्पनीको जीएसएमतर्फको राजश्व ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको छ । यद्यपि, ब्याजदर क्रमिक रूपमा घट्दा ब्याज आम्दानीमा भने गिरावट आएको टेलिकमले जनाएको छ। ‘ब्याज दर क्रमिक रूपमा घट्नुको कारणले ब्याज आयमा गत आवको चौथो त्रैमासिकसम्मको तुलनामा  ब्याज आय करिब  ८६ करोड १९ लाख अर्थात २२.८८ प्रतिशतले घटी भएको छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ।