पूर्वप्रधानमन्त्री देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकल ट्राफिक कारबाहीमा


काठमाडौं – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतमा प्रयोग भएका एक गाडी र एक मोटरसाइकल ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। देउवा गत बिहीबार साउन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि बागमती प्रदेश–०१–०२९ च–९३४३ नम्बरको गाडीमा महाराजगञ्जस्थित निवासतर्फ गएका थिए। ट्राफिक प्रहरीले उक्त गाडीको ढोकाका चालकलाई कारबाही गरेको हो। 

त्यस गाडीको साइडमा ६ जना झुन्डिएर यात्रा गरेका थिए। यात्रु राख्न नमिल्ने स्थानमा  यात्रुराखेको कसुरमा गाडी चालकलाई १ हजार रुपैयाँ जरिबाना गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, देउवाको स्वागतमा सहभागी अर्को मोटरसाइकललाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

उक्त मोटरसाइबलमा तीन जना सवार रहेको पाइएपछि चालकलाई पनि कारबाही गरिएको हो। भारबहन क्षमताभन्दा बढी यात्रु बोकेको कसुरमा मोटरसाइकल चालकलाई ५ सय रुपैयाँ जरिबाना गरिएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले देउवा सवार गाडीको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै प्रहरीले, ‘दुर्घटना बाजा बजाएर आउँदैन, सावधानीले भने रोक्न सक्छ। ट्राफिक नियम पालना गरौँ, आफैँ सजग बनौँ, सुरक्षित रहौँ।’ भनेको छ।