काठमाडौं – नेपाल प्रहरीको साइबर ब्युरोले बैंकबाट बोलेको हुँ केवाइसी अपडेट गर्नुपर्यो भन्दै स्क्याम गर्ने चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाराको देवताल गाउँपालिका–४ बस्ने २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका–१६ बस्ने २२ वर्षीय जय कुमार केवट, रामग्राम–१७ बस्ने २२ वर्षीय विद्या सागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ बस्ने २७ वर्षीय कुवेर थापा रहेका छन्।
उनीहरूले बहालवाला तथा सेवानिवृत्त कर्मचारीहरूलाई लक्षित गरी फोन तथा ह्वाट्सएप कलमार्फत स्क्रिन सेयर गर्न लगाई ओटीपी कोड प्राप्त गर्ने वा माग्ने गरेका थिए। त्यसपछि बैंक खातामा पहुँच पुर्याएर रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने गरेको प्राविधिक विश्लेषणबाट खुलेको छ।
पक्राउ परेकाहरूमाथि काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच र विद्युतीय माध्यमसम्बन्धी ठगी कसुर मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।






About Us
प्रतिक्रिया