‘डक्टर्स अन कल’, जसले दिन्छ घरमै स्वास्थ्य सेवा


काठमाडौं – डाक्टर्स अन कल (डिओसी)ले नेपालमा स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्‍याउने उद्देश्यले घरमै तथा डिजिटल माध्यमबाट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। स्वास्थ्य क्षेत्रमा अनुभवी तथा दक्ष चिकित्सक, फिजियोथेरापिस्ट, डाइटिसियन र नर्सहरूको टोलीमार्फत सुविधाजनक र गुणस्तरीय सेवा प्रदान गर्ने नयाँ अवधारणाका साथ डिओसी सञ्चालनमा आएको हो।

डिओसीले अस्पताल जान नसक्ने बिरामीलाई २४ सै घण्टा स्वास्थ्य सुविधा दिँदै आएको छ। अस्पताल जानुपर्ने बाध्यतालाई कम गर्दै स्वास्थ्य सेवा प्रणालीलाई अझ सुदृढ बनाउने र बिरामीसम्म गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा पुर्‍याउने यसको मुख्य उद्देश्य हो।

अनुभवी डाक्टर, नर्स, फिजियोथेरापिस्ट तथा डाइटिसियनलगायत दक्ष स्वास्थ्यकर्मीहरूको टोलीमार्फत डिओसीले भरपर्दो, सहज र झन्झटरहित स्वास्थ्य सेवा घरदैलोमै उपलब्ध गराउँदै आएको छ। दीर्घरोगबाट पीडित, ओछ्यानमा रहेका तथा ज्येष्ठ नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्ने उद्देश्यले व्यक्तिकेन्द्रित हेरचाह प्रदान गरिन्छ।

डिओसीले प्रत्येक व्यक्तिको स्वास्थ्य अवस्था र आवश्यकता फरक हुने भएकाले सोहीअनुसार व्यक्तिगत हेरचाहको व्यवस्था गर्छ। सेवाग्राहीको कुरा ध्यानपूर्वक सुन्ने, स्पष्ट रूपमा संवाद गर्ने तथा आवश्यक सहयोग र सम्मान प्रदान गर्ने कुरामा विशेष जोड दिइएको छ। हेरचाहका क्रममा व्यक्तिको मर्यादा, सम्मान र स्वतन्त्र निर्णयको अधिकारलाई प्राथमिकतामा राखिने पनि संस्थाले जनाएकाे छ। साथै, आफ्नो हेरचाहसम्बन्धी निर्णयमा सेवाग्राहीलाई सहभागी गराउँदै उनीहरूको इच्छा र रोजाइलाई सम्मान गर्ने नीति डिओसीले अपनाएको छ।

सेवाको प्रभावकारिता कायम राख्न इमानदारी, निरन्तरता र जिम्मेवारीलाई मुख्य मूल्यका रूपमा लिइएको छ। प्रदान गरिने हेरचाहको गुणस्तरलाई समयअनुसार सुधार गर्दै लैजाने प्रतिबद्धता पनि संस्थाले जनाएको छ। हेरचाह शारीरिक स्वास्थ्यमा मात्र सीमित नभई व्यक्तिको भावनात्मक अवस्था, मानसिक सन्तुष्टि र सुरक्षासँग समेत जोडिएको सेवाप्रदायकको भनाइ छ। सेवाग्राहीले आफू सुरक्षित, सम्मानित र महत्त्वपूर्ण भएको महसुस गर्ने वातावरण निर्माण गर्नु हेरचाह सेवाको प्रमुख उद्देश्य रहेको जनाइएको छ।

डिओसीले आलोकी केयर होम पनि सञ्चालन गर्दै आएको छ। संस्थाले ‘Best NYEF २०२१’, CYNYEF 2022 र New Bizz Startup 2023 लगायतका अवार्डसमेत प्राप्त गरिसकेको छ। बिरामीहरूले फेसबुक पेज, इन्स्टाग्राम, वेबसाइट, फोन कल वा अन्य सामाजिक सञ्जालमार्फत डिओसीका सेवा लिन सक्नेछन्। डिओसी सन् २०१७ मा डा. सुयश कार्की, डा. सुमन न्यौपाने र डा. मोहन भण्डारीले मिलेर सञ्चालनमा ल्याएका हुन्।