ग्यास विक्रेता महासंघको माग : ‘प्रचारबाजी छाडेर डिलरमार्फत ग्यास बाँड’


काठमाडौं – देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ।

महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले प्रभावकारी वितरण च्यानल (विक्रेता/डिलर) पन्छाएर उद्योग र विभिन्न केन्द्रमार्फत आफैँ ग्यास बेच्ने निर्णयले अभाव थप जटिल बनेको र उपभोक्ताले अनावश्यक सास्ती खेप्नुपरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न माग गरेका हुन्।

‘सरकार, उद्योग र बिक्री केन्द्रका नामबाट आफैं ग्यास बिक्री गर्ने, अनि अनुगमनका नाममा आम विक्रेतालाई अनावश्यक दु:ख दिने सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति प्रकट गर्दछ,’ महासंघबाट जारी विज्ञप्तिमा छ।

महासंघले तत्काल ग्यास उद्योग र विभिन्न नामका बिक्री केन्द्रहरू बन्द गरी विक्रेता मार्फत मात्रै बिक्री वितरण सहज गर्न सरकारको ध्यानाकर्षण गराएको छ। डिलरमार्फत वितरण प्रणाली मिलाए मात्र उपभोक्ताले पाइरहेको सास्ती अन्त्य हुने र वास्तविक समस्या समाधान हुने महासंघको दाबी छ।