काठमाडौं – काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको समस्या समाधान गर्न नेपाल आयल निगमले विशेष बिक्री वितरणको व्यवस्था मिलाएपछि तोकिएका स्थानहरूमा उपभोक्ताहरूको ठूलो भीड लागेको छ। आयल निगमको टेकु परिसर लगायतका क्षेत्रमा बिहानैदेखि ग्यास सिलिन्डर लिन पुगेका सर्वसाधारणको लामो लाइन देखिएको छ।
नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा ग्यास उद्योगीहरूमार्फत साउन ३१ गते आइतबारका दिन उपत्यकाका विभिन्न ७ वटा स्थानबाट ग्यास बिक्री-वितरणको व्यवस्था मिलाइएको निगमको सूचनामा उल्लेख छ। नियमित विक्रेताहरूबाट ग्यास पाउन नसकेका अति आवश्यक परेका उपभोक्ताहरूलाई लक्षित गरी यो कदम चालिएको हो।
वितरण भइरहेका मुख्य स्थान र ब्रान्डहरू?
निगमको टेकु परिसरः नेपाल, एचपि, एभरेस्ट सुगम, श्रीराम र सागर
पशु सेवा शाखा (चपली, बूढानीलकण्ठ): नेपाल, एचपि र भानु
राधास्वामी (कीर्तिपुर परिसर): नेपाल, एचपि, एभरेस्टरसुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया
नयाँ बजार (जुडो हल परिसर): नेपाल, एचपि र ओम
तारकेश्वर नगरपालिका परिसर: नेपाल र एचपि
चन्द्रागिरि नगरपालिका कार्यालय: लोकप्रिय, नेपाल, एचपि र श्रीमाया
राष्ट्रिय क्षयरोग केन्द्र (ठिमी): नेपाल, एचपि, सूर्य, सागर, एभरेस्टरसुगम र SCT
निगमका अनुसार एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको भए पनि उपभोक्ताहरूलाई सहज रूपमा उपलब्ध गराउन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म यी तोकिएका स्थानहरूबाट ग्यास खरिद गर्न सकिने व्यवस्था गरिएको छ। ग्यास खरिद गर्नका लागि उपभोक्ताहरूले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा ल्याउनुपर्ने निगमले जनाएको छ। तोकिएका स्थानमा विभिन्न कम्पनीका सिलिन्डर उपलब्ध गराइएपनि ग्यास लिन घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यताले गर्दा उपभोक्ताहरूले भने सास्ती खेप्नुपरेको गुनासो गरेका छन्।







About Us
प्रतिक्रिया