पोखरामा खोलाले बगाउँदा तीन जना बेपत्ता


पोखरा-अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा खोला तर्ने क्रममा तीन जना बेपत्ता भएका छन्।पोखरा महानगरपालिका-२६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिक विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका हुन्। पोखरा–१४ विजय बस्तीबाट खोला तरेर सक्नेरीतर्फ आउने क्रममा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमा खोटाङ घर भई हाल पोखरा–१४ चाउथेमा डेरा गरी बस्ने सुवास राईका १५ वर्षीय छोरा ओमन राई र स्याङ्जा घर भई पोखरा छिनेडाँडामा बस्दै आएका चन्द्रबहादुर गुरुङका १४ वर्षीय छोरा निक्सन गुरुङ रहेका छन्।

उनीहरूको खोजीका लागि प्रहरीसहितको टोली परिचालन गरिए पनि शनिबार अबेरसम्म फेला पार्न सकेको छैन। आइतबार बिहानैदेखि पुनः खोजी कार्यलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ। यसैबीच, पोखरा–शिशुवा क्षेत्रमा पनि खोला तर्ने क्रममा अर्का एक जना बेपत्ता भएका छन्। उनको पहिचान खुल्न बाँकी रहेको कास्की प्रहरीले जनाएको छ। उनको खोजीसमेत भइरहेको छ।

अविरल वर्षाका कारण कास्कीका विभिन्न क्षेत्रमा पहिरो जाने, सडक कटान हुने तथा पुलमा क्षति पुग्ने घटना भएका छन्। अन्नपूर्ण गाउँपालिकाको विरेठाँटी क्षेत्रमा मोदी खोलामा आएको बाढीले समेत ठूलो क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।लगातारको वर्षासँगै खोलानाला तथा नदीमा पानीको बहाव बढेकाले जोखिमयुक्त क्षेत्रमा आवतजावत गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।