काठमाडौं- नियामक निकायबाट अनुमति नलिई अनधिकृत तरिकाले घर जग्गा धितो राखी ऋण प्रवाह गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– १ घर भएकी टप ग्लोबल इन्भेस्टमेन्टकी सञ्चालक नविना गुरुङ रहेकी छिन्।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले गुरुङलाई महाराजगन्ज पक्राउ गरेको हो। उनले सञ्चालन गर्दै आएको टप ग्लोबल इन्भेस्टमेन्ट प्रालिले ऋण उपलब्ध गराउने फाराम भर्न लगाई अग्रिम २० प्रतिशत जम्मा गर्न लगाई फिल्ड भिजिट गरी आफूखुसी ब्याज समेत निर्धारण गरी गैर कानुनी तरिकाले ऋण उपलब्ध गराउने कार्य गर्दै आएको प्रहरीले जनाएको छ।
उनलाई पक्राउ गरी नेपाल राष्ट्र बैंक ऐन सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ३ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट विभिन्न मानिसहरूको नामको विभिन्न बैंक खाताको चेक ७१ थान, विभिन्न कम्पनीका सीपीयु ४ थान र मनिटर ४ थान, ऋणीले रकम लिनु पूर्व धरौटी स्वरूप डिपोजिट गर्दा प्राप्त गर्ने रसिद ठेलीहरू ९ थान र ऋण लिँदा प्रयोग गरिने फाराम र ऋण लिने व्यक्तिहरूको फोटो सहितको विवरण समेतका कागजातहरू बरामद गरेको छ।








About Us
प्रतिक्रिया