विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत


काठमाडौं – राष्ट्रियसभाको बैठकले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले साेमबारको बैठकमा राखेकाे उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो। सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले बजेटमा आमजनताको हितका लागि शिक्षा, स्वास्थ्य र विद्युतमा केही मात्रामा कर लगाइएको स्पष्ट पारे।

मुलुकका तीन चौथाई विद्यार्थी सामुदायिक विद्यालयमा पढ्ने गरेको उल्लेख गर्दै मन्त्री वाग्लेले ‘सक्नेले नसक्नेलाई दिने’ भन्ने उद्देश्यका साथ निजी विद्यालयमा प्रगतिशील कर लगाइएको बताए। त्यसैगरी मध्यमवर्गको राहतका लागि आय कर नलाग्ने रकम वृद्धि गरिएको उनले जानकारी दिए। वर्तमान सरकार आउनुअघि नै बजेट सिलिङ तोकिसकेकाले संवैधानिक निकायको बजेट वृद्धि गर्न नसकिएको मन्त्री वाग्लेको भनाइ छ।

सरकारले महत्त्वाकांक्षी आर्थिक विकासको लक्ष्यअनुसार बजेट र कार्यक्रम ल्याएको तथा अर्थ मन्त्रालयलाई सुधार गरी कार्यान्वयन प्रभावकारी हुने व्यवस्था मिलाएको उनले बताए। त्यसअघि सांसदहरू पदमबहादुर परियार, मदनकुमारी शाह, रोशनी मेचे, नारायणदत्त मिश्र, सोमनाथ पोर्तेल, विष्णुकुमारी सापकोटाले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै आफ्ना धारणा राखेका थिए। राष्ट्रियसभाको अर्को बैठक १७ असार दिउँसो १ः१५ बजे बस्नेछ।