बैंकिङ्ग डिस्कोर्श २०२६

‘फिनटेक सफ्टवेयर कम्पनी छैनन् राष्ट्र बैंकको नियमनमा’


फिनटेकका लागि सफ्टवेयर बनाउने कम्पनीहरूलाई अझैसम्म पनि नेपाल राष्ट्र बैंकले नियमन गर्दैन। नियमनकारी निकायले यी कम्पनीहरूलाई गम्भीर नियमन गर्ने गरेको देखिँदैन। नेपालभन्दा बाहिरको बजारमा पनि फिनटेकको महत्त्व करिब करिब उस्तै रहन्छ। यदि नेपाली बजारमा केही सेवा विस्तार गरेर कुनै कम्पनी सस्टेन भइसकेको छ भने त्यो बाहिरको बजारमा जानलाई पनि तयार हुन्छ। हामीले लेजर र परामर्शका समाधानहरू बोलकबोल गरेर संसारमा नाम चलेका टीसीएस जस्ता बहुराष्ट्रिय कम्पनीहरूलाई समेत जितेका छौँ।

फिनटेक क्षेत्रमा साइबर सुरक्षा निकै महत्त्वपूर्ण हुन्छ। विशेषगरी यसले पैसालाई व्यवस्थापन गर्ने भएकाले साइबर सुरक्षामा विशेष ध्यान दिनु आवश्यक छ। सफ्टवेयर विकासका क्रममा साइबर सुरक्षालाई सधैँ प्राथमिकतामा राखिन्छ। सफ्टवेयर बनाउँदा अथेन्टिकेशन (प्रमाणीकरण), अधिकार दिने (अथराइजेशन) र सफ्टवेयर बनिसकेपछि त्यसको मूल्याङ्कन गर्ने काम भइहाल्छन्। यदि सफ्टवेयरले फाइनान्स, पीआईआई (व्यक्तिगत पहिचानयोग्य सूचना) र कार्डलाई छुन्छ भने भुक्तानी सेवा प्रदायक कम्पनीहरूले पिसिआई–डिएसएस र पिसिआई–एसएसएफ जस्ता सुरक्षण मापदण्डहरू लिने गर्दछन्।

सफ्टवेयर बनाउने राराल्याब्स जस्ता कम्पनीहरूले पिसिआईको एसएसएफ प्रमाणपत्र लिने प्रचलन छ। यो सर्टिफिकेट ल्याइसकेपछि तेस्रो पक्षका अडिटर्स (लेखा परीक्षक) हरूले उक्त प्रणाली वित्तीय सञ्चालनका लागि सही र सुरक्षित छ भनेर प्रमाणित गरिदिन्छन्। सन् २००८ तिर लक पोइन्ट भन्ने कम्पनीबाट नेपालमा साइबर सुरक्षाको सुरुवात भएको थियो। यो साइबर सुरक्षाकै डोमेनको हो। अहिले फिनटेक क्षेत्रमा नेपालमा रहेको प्रतिभालाई अन्तर्राष्ट्रियस्तरमा सजिलै विस्तार गर्न सकिन्छ।

वास्तवमा ह्याक गर्ने भनेको एउटा इन्जिनियरले गरेको गल्ती अर्को मान्छेले पत्ता लगाउनु जस्तै हो। केही समय अघि मात्रै मिथोस भन्ने एउटा अपरेटिङ सिस्टम सञ्चालनमा आएको छ। यसलाई एआईको संस्करणका रूपमा निकालिएको हो। यसलाई संसारकै सबैभन्दा सुरक्षित सिस्टम भनिन्छ। तर, सुरक्षित मानिएको फ्रिबिएसडीमा ३० वर्ष अगाडि कुनै डेभलपरले लेखेको कोडमा एउटा सानो त्रुटि भर्खरै भेटियो। फ्रिबिएसडी र लिनक्सलाई निकै सुरक्षित सिस्टम मानेर धेरैले प्रयोग गर्दै आएका थिए, तर त्यहाँ पनि छिद्र भेटिन्छ। त्यसैले, ह्याक नै नहुने सिस्टम बनाउनै सकिँदैन। हामी मानिसहरू सधैँ शतप्रतिशत सिद्ध वा त्रुटिरहित कुरा सोच्न सक्दैनौँ। हामीले आफ्नो सोचअनुसार जे कुरा लागू गरेका हुन्छौँ, त्यसको अपूर्णतालाई अर्को ह्याकरले पूरा गरिदिने गर्छ।

बिजनेसको स्केलअपमा एआईको भूमिका र बजारको रूपान्तरणले ठुलो भूमिका खेल्छ। यहाँ ६ महिनाको छोटो अवधिमा नै धेरै ठुला परिवर्तनहरू हुने गरेका छन्। हामीले लेजरहरू निर्माण गर्छौँ। बैंकिङ्ग तथा फाइनान्स क्षेत्रमा अडिटको महत्त्व सबैले बुझेका छौँ। हिजोका दिनमा कारोबारहरू हातले हिसाब गरिन्थ्यो वा कागजमा काम हुन्थ्यो। त्यतिबेला ३–३ महिनामा आन्तरिक अडिट गर्ने र एक वर्षमा वार्षिक अडिट गर्ने नियम थियो। तर, जब एजेन्टहरूले डिजिटल माध्यमबाट द्रुत कारोबार गर्न थाल्छन्, तब अब अडिट पनि त रियल टाइम हुनुपर्छ होला नि? त्यसैले हामीले गर्ने कामको मोडल नै परिवर्तन हुँदैछ र हामीले त्यसलाई आत्मसात् गर्दै अघि बढ्ने हो। आउने दिनमा एआईले के गर्छ र यसबाट के के सम्भव हुन्छ भन्ने कुरा अहिले नै सोच्न समेत सकिँदैन।

(बैंकिङ्ग डिस्कोर्शको चौथो सत्र बैंकिङ्ग भविष्यः एआई, साइबर सुरक्षा र फिनटेकमा राराल्याब्सका सीईओ मनोज घिमिरेले राखेको विचारमा आधारित)