बैंकिङ्ग डिस्कोर्श २०२६

‘विकास बैंकको औचित्य जोगाउन नीतिगत सुधार आवश्यक छ’


समग्रमा राष्ट्र बैंकले विकास बैंकलाई हेर्ने नजर अलि फरक छ। विकास बैंकहरू जुन हिसाबले पहिला अगाडि बढिरहेका थिए, राष्ट्र बैंकले लिएको नियामकीय भूमिकाका कारण त्यसले एउटा दिशा लिएको देखिन्छ। तर, एउटै समयमा अलि खुकुलो भइदियो भने नियन्त्रित वातावरणभित्र परीक्षणात्मक मोडालिटीहरूमा खुकुलोपन आयो भने, वाणिज्य बैंकले मात्रै होइन, विकास बैंकहरूले पनि नवप्रवर्तनमा योगदान गर्न सक्छन् जस्तो लाग्छ। विकास बैंकहरूले नै पनि धैरे विषयमा नेतृत्व गरेका छन्। पहिलादेखि हेर्ने हो भने वाणिज्य बैंकहरूले भन्दा पहिलै कामना सेवा विकास बैंकले क्यूआर कोडमार्फत रकम झिक्ने प्रविधि ल्याएको थियो। कहिलेकाहीँ विकास बैंकको तुलनामा वाणिज्य बैंकलाई अलि बढी खुकुलो वातावरण दिइएको हो कि भन्ने अनुभव पनि हुन्छ।

विकास बैंकको आफ्नै फाइदा छ। हामी फुर्तिला छौं, प्रविधिमैत्री छौं र ग्राहकसम्मको पहुँच पनि नजिक छ। यस बाहेक विकास बैंकले त्यो डामेनमा वाणिज्य बैंक पनि आउन नसक्ने भन्ने कुरा हुँदैन। त्यसरी वाणिज्य बैंकहरू त्यही क्षेत्रमा आउँदा विकास बैंकको औचित्य रहन्छ कि रहँदैन भन्ने प्रश्न उठ्न सक्छ जस्तो लाग्छ। अहिले हेर्दा विकास बैंकहरू ठीकै छन् र काम पनि गरिरहेका छन् भन्ने देखिन्छ। यसअघि मर्जरको समयमा पनि यस्तै प्रश्न उठेको थियो। एक समय ९१ वटा रहेका विकास बैंक घटेर १७ वटामा पुगे। राष्ट्रियस्तरका विकास बैंकहरू समेत मर्ज भएर वाणिज्य बैंकमा परिणत भएका थिए । त्यतिबेला पनि विकास बैंकको औचित्यमाथि प्रश्न उठेको थियो।


त्यो प्रश्नको जवाफ व्यवहारमा केही हदसम्म भेटिएकै कारण विकास बैंकहरू अहिलेसम्म टिकिरहेका छन् । तर यही अवस्था निरन्तर रहिरह्यो भने भविष्यमा विकास बैंकको औचित्य कमजोर बन्दै जाने हो कि भन्ने चिन्ता छ ।

विकास बैंकको औचित्य कायम राख्न विकास बैंकले गर्न सक्ने र विशेषज्ञता हासिल गरेका क्षेत्रहरूमा केही फरक भूमिका निर्वाह गर्न सक्ने प्रावधान राष्ट्र बैंकले ल्याइदियो भने त्यसले नयाँ सम्भावना सिर्जना गर्न सक्छ । अर्को भ्रम के पनि छ भने अहिले रहेका १७ वटा विकास बैंक पनि एउटै प्रकृतिका छैनन् । केही क्षेत्रीय विकास बैंक छन् भने ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरु छन् । त्यसैले अहिले चुनौती त्यति ठूलो नदेखिए पनि भविष्यमा यो विषय थप चुनौतीपूर्ण बन्न सक्छ ।

विकास बैंकको वर्तमान प्रवृत्ति हेर्दा अहिले निकै प्रतिस्पर्धात्मक वातावरण छ । यही प्रतिस्पर्धात्मक वातावरणका कारण विकास बैंकको दिगोपनमाथि प्रश्न उठेको हो । आजको दिनमा हेर्दा वाणिज्य बैंकबाट पनि ठूला ग्राहकहरू विकास बैंकतर्फ आइरहेका छन् । मुख्य व्यवसायको हिसाबले हेर्ने हो भने हामी सबैको लक्ष्य लगभग एउटै छ । साना व्यवसाय र साना इन्टरप्राइजमै हाम्रो केन्द्रित छ ।

चिन्ता अहिलेको अवस्था मात्र होइन, यो हिस्सा अझै घट्दै जाने हो कि भन्ने हो । विकास बैंकको अस्तित्व रहने वा नरहनेभन्दा पनि यसको स्वरूप कस्तो बन्छ भन्ने महत्वपूर्ण प्रश्न हो । त्यो स्वरूप कस्तो हुने भन्ने कुरा राष्ट्र बैंकले विकास बैंकका लागि कस्तो नीति र मार्गदर्शन तयार गर्छ भन्नेमा निर्भर गर्छ ।

यदि विकास बैंकलाई जोगाउनुपर्छ र यही संरचनामा अगाडि बढाउनुपर्छ भन्ने सोच हो भने विकास बैंकहरूले उठाउँदै आएका मागहरूको सम्बोधन हुनुपर्छ । तर अहिलेको अवस्था र नीतिगत व्यवस्था यही रूपमा रहिरहने हो भने आगामी दिनहरू विकास बैंकका लागि अलि कठिन हुन सक्ने देखिन्छ ।

(कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यले बैंकिङ्ग डिस्कोर्शको तेस्रो सत्र ‘विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीति’ मा राखेका विचारमा आधारित)