युनाइटेड मोदी हाइड्रोपावरको १२ औँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालकमा अधिकारी र पाण्डे निर्वाचित


काठमाडौं – युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड १२ औँ वार्षिक साधारण सभा आज कालीमाटी व्यैङ्केट, कालीमाटी काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीको सञ्चालक समितिका अध्यक्ष नविन सिलवालको अध्यक्षतामा सम्पन्न सभाले ७.३६८४२ प्रतिशत लाभांश पारित भएको छ। जसमा ७ प्रतिशत बोनस सेयर र ०.३६८४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) रहेको छ।

सभाबाट सञ्चालक समितिको सदस्यमा रेणुका पाण्डे र प्राप्ति अधिकारी निर्वाचित भएका छन्। सभाले सामान्य प्रस्तावहरूमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नु हुने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ। 

त्यसैगरी सभाले लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व. २०८१/०८२ का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने, लेखा परीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८२/०८३ को लेखा परीक्षण कार्यको लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण समेत गरेको छ। यस्तै, सभाले अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ।

त्यसैगरी सभाले विशेष प्रस्तावहरूमा कम्पनीले अन्य कम्पनीहरूमा लगानी गर्न सहज बनाउन होल्डिङ्ग कम्पनीको रूपमा विकास गर्नको लागी कम्पनीको नाम परिवर्तन गर्ने तथा सोही अनुसार प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको जारी पुँजी वृद्धि गर्ने , हकप्रद शेयर जारी तथा निष्कासन गर्ने कार्य गर्दा विद्युत् नियमन आयोग, नेपाल धितो पत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि कम्पनी रजिष्ट्रारको कार्यालय र सिडिएस एण्ड क्लियरिङ्ग लि. लगायतका नियमनकारी निकायमा आवश्यक कार्य गर्नका लागि कम्पनीको सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ। 

त्यसैगरी सभाले माथि उल्लेख गरे बमोजिम कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनहरू कम्पनी रजिस्ट्रार कार्यालयबाट स्वीकृत गराउने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्न र नियामक निकाय तथा अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशन बमोजिम प्रबन्ध पत्र तथा नियमावलीमा परिमार्जन गर्नुपरेमा सो सम्बन्धमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ।

सभामा बोल्ने शेयरधनीहरूले प्रतिफलको स्वागत गर्दै यस आर्थिक वर्षमा पनि लाभांश दिन सञ्चालक समिति र व्यवस्थापनलाई आग्रह गरेका छन्। कम्पनीले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा ८ मा १० मेगावाट क्षमताको तल्लो मोदी १ आयोजना २०६९ मंसिर ९ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ।