चैत ११ गतेदेखि चितवन–डोल्पा राइड, ४ प्रदेशका १५ जिल्ला समेटिने


चितवन – आन्तरिक पर्यटन र ‘राइड टुरिजम’ (साहसिक मोटरसाइकल पर्यटन) लाई बढावा दिने उद्देश्यका साथ हिमालयन राइडर्स चितवनले १२५० किलोमिटर लामो साहसिक यात्रा आयोजना गर्ने भएको छ। चैत ११ गते बुधबार चितवनको नारायणगढबाट सुरु हुने यो यात्रा ६ दिनसम्म चल्नेछ। चितवन उद्योग वाणिज्य संघको परिसरबाट सुरु हुने राइडको उद्घाटन भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारीले गर्ने कार्यक्रम तय भएको छ। यात्राका क्रममा टोलीले बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका विभिन्न १५ जिल्लालाई समेट्ने आयोजकले जनाएको छ।

डोल्पा मुख्य गन्तव्य
यात्राको मुख्य गन्तव्य पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको दुर्गम जिल्ला डोल्पालाई बनाइएको छ। राइडका संयोजक एवं चितवन अटोमोबाइल एसोसिएसनका पूर्व अध्यक्ष अमृत जोशीका अनुसार टोलीले चितवन, तनहुँ, कास्की, पर्वत, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, डोल्पा, जाजरकोट, सल्यान, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पश्चिम र नवलपरासी पूर्वको भ्रमण गर्नेछ।

‘हाम्रो उद्देश्य मोटरसाइकल यात्रामार्फत नेपालका सुन्दर पहाडी र हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नु हो,’ संयोजक जोशीले भने, ‘यसले ओझेलमा परेका गन्तव्यहरूलाई बाहिर ल्याउन र सडक सुरक्षाको सन्देश प्रवाह गर्न मद्दत पुग्नेछ।’ रुट निर्धारण, सुरक्षा र आवासको सम्पूर्ण व्यवस्थापन पुरा भइसकेको संयोजक जोशीले जानकारी दिए। विगतमा मनाङ, ढोरपाटन, टकसेरा र सिक्लेस लगायतका क्षेत्रमा १० वटा सफल राइड सम्पन्न गरिसकेको हिमालयन राइडर्सले ‘राइड टुरिजम’ लाई मुख्य थिम बनाएको छ।

आगामी दिनमा रारा, हुम्ला, रामारोसन तथा पूर्वका तिनजुरे, सोलु सल्लेरी र कालिन्चोक जस्ता क्षेत्रलाई पनि आफ्नो गन्तव्य सूचीमा राखेको जोशीले बताए । नेपालका उच्च पहाडी र हिमाली भेगमा राइड टुरिजमको ब्रान्डिङ गर्न सके पर्यटकको संख्या उल्लेख्य रूपमा बढाउन सकिने कार्यक्रमका सहसंयोजक तथा चितवन अटोमोबाइल एसोसिएसनका अध्यक्ष मोहन केसीले विश्वास व्यक्त गरे।