वित्तीय संस्थाविरुद्ध शृङ्खलाबद्ध आक्रमण गर्दैछन् ऋणी


काठमाडौं – २०७६ सालको अन्त्यमा सरकारले कोभिड–१९ महामारी अन्त्यका लागि भन्दै बन्दाबन्दी घोषणा गर्‍यो। विश्वभर तीव्र रूपमा फैलिँदै गएको महामारी रोक्ने लक्ष्यसहित तत्कालीन समयमा चैत ११ गतेदेखि सरकारले नेपाल व्यापी बन्दाबन्दी घोषणा गर्‍यो। सो समयमा सुरुमा सर्वसाधारणलाई बन्दाबन्दी बुझ्नै दुई/तीन महिना लागेको थियो।

तर, सर्वसाधारणले बुझ्दासम्म सबै कुरा असामान्य बन्न थालिसकेको थियो। घरमा बाल्ने चुल्होदेखि खाने खानासम्मको मौज्दात रित्तिएको थियो। बन्दाबन्दी सुरु भएको ४/५ महिनापछि खुल्न त खुल्यो। त्यति बेलासम्म बजारमा सबै वस्तुको हाहाकार थियो र माग ह्वात्तै बढ्यो। फलस्वरूप बैंकको कर्जा माग समेत बढ्यो र थुप्रिएको खर्बौं रकम केही महिनामै रित्तियो।

अर्थतन्त्रको सामान्य सिद्धान्त बमोजिम नै माग बढेर लगानीयोग्य रकम घट्न थालेपछि बैंकहरुले बिस्तारै कर्जाको ब्याज बढाउन थाले। सुरुमा ६/७ प्रतिशतमा दिइरहेको ब्याज बढ्दै १४ प्रतिशतसम्म पुग्यो। लगानी गरेको व्यवसायको आम्दानी सुक्दै गयो भने बैंकको सावा ब्याजले व्यवसायीलाई च्याप्दै लग्यो। जसको प्रतिकार स्वरूप २०७९ सालसम्म आइपुग्दा देशभरका व्यवसायी बैंकविरुद्धमा सडक उत्रिए।

तत्कालीन समयमा राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा न्यूरोडबाट सुरु भएको बैंकविरुद्धको आन्दोलनले देश तात्यो। नेपाल उद्योग वाणिज्य महासंघका केही प्रतिनिधि नै सडकमा उत्रिए भने महासंघकै काठमाडौं शाखाका अध्यक्ष दिनेश श्रेष्ठ पनि आन्दोलनमा होमिए। बैंकविरुद्धको आन्दोलन तीव्र र देशव्यापी बन्दै गएपछि मौका हेरिरहेका दुर्गा प्रसाईँले ‘क्यास’ गर्न खोजे। उनले तत्कालीन व्यवसायी महासंघको नेतृत्वसमक्ष आफ्नो अगुवाइमा आन्दोलनको प्रस्ताव नै गरेका थिए।

तर, प्रस्ताव अस्वीकार भएपछि बैंकबाट ६/७ अर्ब कर्जा ऋण लिएका ठुला ऋणीमध्येका एक प्रसाईँ बैंकविरुद्ध आगो ओकल्न थाले। उनले देश दौडाहा गर्दै सहकारी, लघुवित्त र बैंकविरुद्ध नै ऋण नतिर्न सर्वसाधारण भड्काउन थाले। त्यसयता उनी निरन्तर बैंक तथा वित्तीय संस्थाविरुद्ध भड्काउन भाषण गर्दै २० लाखसम्मको ऋण मिनाहा गर्नुपर्ने, कर्जा असुल्न आउने बैंकका कर्मचारीलाई कालो मोसो दल्नुपर्ने लगायतका एजेन्डा स्थापित नै गराए।

जसको परिणाम आज देखिँदै आएको छ। प्रसाईँकै भाषणबाट प्रेरित बनेर काठमाडौंमा केही हजार ऋणी समेत आएका थिए। तीनैमध्येका केही ऋणी बैंक तथा वित्तीय संस्थाविरुद्ध आक्रमणमा जुटेका छन्। यसबाहेक अराजक प्रसाईँले कालोमोसो दल्ने अभियान नै सञ्चालन गरेकामा प्रहरीले संयोजक पक्राउ गरेपछि केही मत्थर बनेको थियो। तर, यसबीचमा बैंक तथा वित्तीय संस्थामाथि कम्तीमा पनि दर्जनभन्दा बढी पटक हमला भइसकेको छ।

प्रसाईँको अभियानको प्रभाव गत वर्ष २०८१ को पुसमा पहिलो पटक देखिएको थियो। सो समयमा कृषि विकास बैंक लहान शाखाका कर्मचारीलाई स्थानीयले आक्रमण गरेका थिए। कर्जा असुल्न खोज्दा बैंकको शाखामाथि नै ढुंगामुढा तथा तालाबन्दी गरेका थिए। यसपछि सिद्धार्थ बैंकको जनकपुर शाखामा ऋणीले आक्रमण गरेका थिए भने एनआईसी एसियाको रौतहट शाखाका कर्मचारीमाथि पेट्रोल छर्केर हत्याको प्रयास भएको थियो।

गत वर्षकै फागुन १६ गते जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको थियो। सो कार्यलयमा लुटपाट समेत भएको भन्दै प्रहरीमा उजुरी परेको थियो। गत वर्षको फागुन २१ गते मोरङ्को कर्सियामा जीवन विकास लघुवित्तका कर्मचारीलाई कुटपिट भएको थियो भने फागुनकै २५ गते झापामा अर्को एक लघुवित्तका कर्मचारीलाई कालोमोसो दलिएको थियो।

यसबाहेक, एनएमबी लघुवित्तसँगै सप्तरी, कपिलवस्तु र सिराहामा पनि लघुवित्तका कर्मचारीमाथि आक्रमण तथा कालोमोसो दलियो। सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थामाथि आक्रामक बनाउनु अघि प्रसाईँले भनेका थिए ‘बैंक तथा वित्तीय संस्थाका कर्मचारी आए च्याप्प समाउँदै मोसो दल्नुपर्छ।’ उनको यो अभिव्यक्तीपछि नै बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि सर्वसाधारण तथा ऋणीहरू आक्रामक बन्दै गएका छन्।

जसको पछिल्लो उदाहरण ज्योति विकास बैंकका कर्मचारीमाथि मंसिरको अन्तिम साता भएको आक्रमण पनि हो। यो आक्रमणपछि २ जना पक्राउ परे पनि बैंकका कर्मचारीले निरन्तर असुरक्षा महसुस गरिरहेका छन्। यी आक्रमणका शृङ्खलाले बैंक तथा वित्तीय संस्थाको विश्वास र संरचना माथि नै समस्या उत्पन्न भइरहेको छ। यतिबेला अर्थतन्त्रको चक्र बिग्रेका कारणले उद्योगी–व्यवसायीको हिसाबकिताब बिग्रेको छ।

सामान्य आर्जन गर्दै व्यवसाय सञ्चालन गरिरहेका साना व्यवसायीको समेत हिसाब बिग्रिएको छ। यहीकारण, यतिबेला १ लाख २९ हजारभन्दा बढी ऋणी कालोसूचीमा छन्। लघुवित्ततर्फका १५ हजार ऋणी कालोसूचीमा छन्। सबैगरी झण्डै डेढ लाख ऋणी कालोसूचीमा परेको स्थितीमा कर्जा नै नतिर्ने बदनियत राखेर भइरहेको आक्रमणले सर्वसाधारण बैंकविरुद्ध आक्रामक छन् भन्ने तथ्य देखाउँछ।

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष उपेन्द्र पौडेल यसखाले आक्रमणबाट बैंकिङ्ग क्षेत्रका कर्मचारीमा नै सन्त्रास पैदा हुने बताउँछन् । उनका अनुसार यस प्रकारको घटनाले बैंकमा थुप्रिएको खर्बौं लगानीका लागि समस्या उत्पन्न हुन्छ भने बैंकहरुको खराब कर्जाको तथ्यांक झनै बढ्दै जान्छ।