चाड पर्वलाई सुरक्षित र मर्यादित तरिकाले मनाउने व्यवस्था मिलाउन जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन


काठमाडौं – कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी प्रमुख तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरूलाई दीपावली, छठ, उँधौली लगायतका पर्वको शुभकामना सहित चाडपर्व विशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरी चाड पर्वलाई हर्सोलासका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाउन भर्चुअल माध्यमद्वारा निर्देशन दिएका छन् ।

कार्तिक ०२ गते प्रदेश प्रहरी प्रमुख कार्कीले चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिविधि, कालोबजारी, खुल्ला सीमा नाकाको कारण हुने चोरी तस्करी, लागू औषधको प्रयोग तथा ओसार, झैँ झगडा, जुवा तास जन्य गतिविधिलाई नियन्त्रण गर्नको लागी कडाइका साथ प्रहरी परिचालन गर्न निर्देशन दिएका हुन् ।

चाडपर्वको समयमा लाग्ने मेला पर्व, बैंक तथा वित्तीय संस्था, सुन चाँदी पसलहरूमा प्रहरीको निगरानी बढाउन तथा सरोकारवाला निकाय सँगको समन्वयमा प्रभावकारी बजार अनुगमन गर्न, यात्रुहरूको आवागमनलाई थप सहजता बनाई दुर्घटना हुन नपाउने गरी ट्राफिक व्यवस्थापन मिलाउन  समेत निर्देशन दिए  । 

साथै उनले मौसम प्रतिकुलताको कारण बाढी, पहिरो, डुबान जस्ता बिपदका घटनाहरू भइरहेको अवस्थामा प्रहरी संवेदनशील भई अन्य सुरक्षा निकायहरूसँग समन्वय गरी परिचालन हुन समेत निर्देशन दिए। उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोख्रेल लगायत सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।