बागलुङ – सरकारले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका घाइतेहरूका लागि राहत रकम जिल्ला प्रशासनमा पठाएको छ । तर घाइतेको एकिन पहिचान हुन नसक्दा वितरण हुनसकेको छैन ।
हालसम्म राहत रकम वितरण गर्न नसकेको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताए। गृहमन्त्रालयले पठाएको घाइतेको सूचीमा बागलुङ घर भएको बताइए पनि एकिन ठेगाना नखुलेको उनको भनाइ छ । काठमाडौं र पोखरामा भएको प्रदर्शनमा युवाहरू घाइते भएका थिए । प्रशासनले ती युवाहरूको खोजी गरिरहेको गुरुङले जानकारी दिए।
प्रदर्शनमा घाइते युवालाई सम्पर्कमा आउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । घाइतहरूले राजधानीसहित विभिन्न सहरका अस्पतालमा उपचार गराएको भए पनि राहत रकम लिन नआएको उनको भनाइ छ । गृह मन्त्रालयले पाँच जना घाइतेका लागि जनही २० हजार रुपैयाँका दरले जम्मा एक लाख रुपैयाँ पठाएको छ ।
घाइतेमध्ये अभियानकर्मीका रूपमा चिनिएका बागलुङ नगरपालिका–३ का सोम शर्मासमेत हुन् । उनको हालै ठेगाना पत्ता लागेको छ । त्यसबाहेक सङ्घर्ष भुसाल, मनोज सुनार, नारायण सत्याल र किरण थापामगरको ठेगाना र अभिभावकको समेत जानकारी नपाइएकाले राहत रकम वितरण गर्न नसकिएको जिल्ला प्रशासनले जनाएको छ ।



About Us
प्रतिक्रिया