काठमाडौं – नेपालको अर्थतन्त्रको प्रमुख आधारको रूपमा रहेको रेमिट्यान्स अन्य महिनाको तुलनामा दसैंको समयमा बढी भित्रिने गरेको छ । वैदेशिक रोजगारका लागी बिदेसिएकाहरूले दसैं र तिहार लक्षित गर्दै साउन, भदौ र असोजमा रेमिट्यान्स पठाउँदा यो समयमा अन्य महिनाको तुलनामा बढी रेमिट्यान्स आउने गरेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांङ्कअनुसार गत आर्थिक वर्ष ०८१/८२ को पहिलो महिना साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ आएको थियो । यस्तै, भदौमा एक खर्ब २६ अर्ब २१ करोड रुपैयाँ, असोजमा एक खर्ब ४४ अर्ब १७ करोड रेमिट्यान्स भित्रिएको थियो । जबकी गत आर्थिक वर्ष ०८१/८२ मा जम्मा १७ खर्ब २३ अर्ब २७ करोड रेमिट्यान्स भित्रिएको थियो । १७ खर्ब रेमिट्यान्स भित्रिँदा ४ खर्ब ३ महिनामा नै आएको देखिएको हो ।
देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को अनुपातमा रेमिट्यान्स आप्रवाह २७ प्रतिशत छ । अर्थविद् डा. चन्द्रमणि अधिकारीले महान् चाड पर्ने महिना भएका कारण यी महिनामा बढी रेमिट्यान्स भित्रिने गरेको बताए। दसैंतिहारमा वस्तु तथा सेवाको उपभोग पनि बढ्ने भएकाले विदेशमा रहेका नेपालीहरूले आफ्नालाई यो समयमा बढी रेमिट्यान्स पठाउँछन् । उपभोग बढ्ने भएकाले यहीँ बेलामा आयात पनि बढ्ने गरेको उनको भनाइ छ । उनले भने, ‘चाडपर्वमा परिवारसँग बिताउने समय, घुमफिर, मिष्टान्न भोजनलगायतका गतिविधिका कारण खर्च वृद्धि हुन्छ । विदेशमा रहेका नेपालीहरूले चार्ड पर्व लक्षित आफ्नो कमाइको ठुलो हिस्सा परिवारलाई पठाउने गर्छन् ।’
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष ०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
रेमिट्यान्स बढ्दा अर्थतन्त्रको बाह्य क्षेत्र सबल देखिए पनि रेमिट्यान्स बढ्नुमा खुसी हुनुपर्ने अन्य कारण नभएको अर्थशास्त्री अधिकारीको बुझाइ छ । रेमिट्यान्समा निर्भर भएर क्षणिक लाभ दिए पनि दीर्घकालीन लाभ नरहेको उनको टिप्पणी छ । उनले भने, ‘रेमिट्यान्स मात्रै बढेर देश बन्दैन । अर्थतन्त्र सबल हुन वस्तु निर्यात, पर्यटनको विकास र वैदेशिक लगानी भित्रिनुपर्छ । अहिलेको प्रवृत्तिले अर्थतन्त्रलाई उत्पादनमा जोड दिँदैन, परनिर्भरता बढाउँछ ।’
दसैंको समयमा आउने रेमिट्यान्सको प्रवाहले व्यापार–व्यवसायमा समेत तीव्रता आउँछ । कपडा, खाद्यान्न, सुन–चाँदी र अन्य उपभोग्य वस्तुहरूको माग ह्वात्तै बढ्ने हुँदा स्थानीय अर्थतन्त्र समेत चलायमान बन्छ । तर, रेमिट्यान्समा अत्यधिक निर्भरताले दीर्घकालीन आर्थिक विकासमा चुनौती थपिने कतिपयको बुझाइ छ । अर्थशास्त्री ज्ञानेन्द्र अधिकारीका अनुसार नेपालमा भित्रिने रेमिट्यान्स छरिएर आउने भएकाले त्यसको प्रभाव व्यवस्थित रूपमा अर्थतन्त्रमा पर्ने गरेको छैन ।
दसैंको समयमा आउने रेमिट्यान्सको प्रवाहले व्यापार–व्यवसायमा समेत तीव्रता आउँछ । कपडा, खाद्यान्न, सुन–चाँदी र अन्य उपभोग्य वस्तुहरूको माग ह्वात्तै बढ्ने हुँदा स्थानीय अर्थतन्त्र समेत चलायमान बन्छ । तर, रेमिट्यान्समा अत्यधिक निर्भरताले दीर्घकालीन आर्थिक विकासमा चुनौती थपिने कतिपयको बुझाइ छ ।
उनले भने, ‘नेपालले आफ्नै उत्पादनहरू बजारमा ल्याउन नसक्दा रेमिट्यान्स पाइपलाइनबाट आएर पाइप लाइनबाटै बाहिरिने अवस्था छ ।’ उनका अनुसार, सरकारका नीतिहरू स्पष्ट र कार्यान्वयनमुखी बनाउन सके मात्र रेमिट्यान्सको वास्तविक फाइदा लिन सकिन्छ । अधिकारीले भने, ‘रेमिट्यान्सको दीर्घकालीन लाभका लागि अर्थतन्त्रको समग्र संरचनामा सुधार गर्न आवश्यक छ।’ राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार विदेशबाट नेपाल भित्रिने कूल रेमिट्यान्समधये करिब ७७ प्रतिशत उपभोगमै खर्च हुने गरेको हो । अझै दसैंको समयमा बढी उपभोग हुने भएकाले यो समयमा आएको रेमिट्यान्स पनि बढी उपभोगमा खर्च हुने गरेको छ ।
तथ्यांक कार्यालयको ०७९/८० को जीवनस्तर सर्वेक्षणको प्रतिवेदनले नेपाल भित्रिने १०० रुपैयाँ रेमिट्यान्समध्ये झन्डै ७७ रुपैयाँ उपभोगमा नै सकिने गरेको देखिन्छ । यसर्थ जम्मा १०० रुपैयाँको २३ रुपैयाँ मात्रै उपभोगबाट बच्ने गरेको छ । यता भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा १४ खर्ब ३० अर्ब रुपैयाँभन्दा बढी आयातमा नै बाहिरिएको छ ।
दसैंको समयमा विभिन्न रेमिट्यान्स कम्पनीहरूले विशेष अफरहरू सार्वजनिक गर्ने भएकाले पनि यस अवधिमा रेमिट्यान्स प्रवाह बढ्ने गरेको पाइन्छ । चाडपर्व लक्षित आकर्षक योजनाका कारण विदेशबाट आउने रेमिट्यान्स रकममा सामान्यतया वृद्धि हुने देखिन्छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष ०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जबकी अघिल्लो आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब १६ अर्ब २ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो । यस्तै, भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ र असोजमा ३ खर्ब ६५ अर्ब ३४ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो । सो वर्षमा १४ खर्ब रेमिट्यान्स आउँदा आधा रेमिट्यान्स तीन महिनामै भित्रिएको देखिन्छ ।
साथै, आर्थिक वर्ष ०७९/८० को पहिलो महिना साउनमा ९२ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको थियो । यस्तै, भदौमा १ खर्ब ८७ अर्ब ४ करोड र असोजमा २ खर्ब ८१ अर्ब ५ करोड रेमिट्यान्स भित्रिएको थियो । उता आर्थिक वर्ष ०७९/८० भरिमा जम्मा १२ खर्ब २० अर्ब ५६ करोड रेमिट्यान्स आएको थियो । जसमा पनि पहिलो तिन महिनामा ५ खर्ब बढी रेमिट्यान्स आएको हो । यो तथ्यांकले पनि अन्य समयको तुलनामा सुरुको तीन महिनामा बढी रेमिट्यान्स आएको देखिन्छ । विदेशमा रहेका नेपाली कामदारहरूले परिवारलाई चाडपर्व खर्च पठाउने चलनले यो समयमा रेमिट्यान्स प्रवाहमा बढ्ने गरेको हो ।






About Us
प्रतिक्रिया