माधवनारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध  विशेष अदालतमा मुद्दा दायर


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकामा विद्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा अनियमितता गरेको अभियोगमा तीन जना व्यक्तिसहित एक कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियारका अनुसार माधव नारायण नगरपालिका–३ सखुअर्वास्थित देवी माध्यमिक विद्यालयको भवन निर्माणका लागि आ।व। २०७७/०७८ मा जारी गरिएको ठेक्का ‘MNM/Works/2077/78’ अन्तर्गत बोलपत्र आह्वान सूचना र स्वीकृत आशयको सूचना कानुनबमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित नगरी झूटो विवरण तयार गरी नगरपालिकालाई हानी पु¥याइएको प्रमाणित भएको हो ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव, र रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रालिका सञ्चालक अजित कुमार कर्णले आपसी मिलोमतो गरी ठेक्काको बोलपत्र सूचना ‘सिटी पोष्ट राष्ट्रिय दैनिक’ जस्तो देखिने सीमित प्रति मात्र छापी नगरपालिकामा बुझाएको देखिएको अख्तियारले जनाएको छ । 

प्रेस काउन्सिल नेपालबाट सो मितिका वास्तविक प्रकाशन अभिलेख नभएको पुष्टि भएपछि उनीहरूले झूटा विवरणका आधारमा नगरपालिकाबाट दुई लाख ५७ हजार भुक्तानी लिएको प्रमाण फेला परेको आयोगले जनाएको छ। सोही कार्यबाट माधव नारायण नगरपालिकालाई आर्थिक हानि पुर्‍याई आफूहरूलाई गैरकानूनी लाभ लिएको ठहर गर्दै आयोगले उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको मागसहित विशेष अदालतमा आज आरोप पत्र दायर गरेको हो।