काठमाडौं – काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्ययतामा आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ । हरेक वर्ष अक्टोबर ९ तारिखका दिन विश्वभर मनाइने ‘विश्व दृष्टि दिवस’ ‘World Sight Day’ यस वर्ष ‘आँखालाई माया गरौं’ ‘Love your Eyes’ भन्ने नाराका साथ आँखा स्वास्थ्य सम्बन्धी विविध कार्यक्रम गरी मनाइएको हो ।
आँखा स्वास्थ्य शिविर उद्घाटन समारोहलाई सम्बोधन गदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले विकासका सूचकहरूमा अन्य विकासका आधारभूत स्तम्भहरूसँगै नेत्र स्वास्थ्यलाई समेत विशेष सम्बोधन गरी योजना तर्जुमा गर्न सकेमा नागरिकको समुन्नत विकास हुनेमा विश्वास व्यक्त गरे । साथै नेपाल प्रहरीका प्रहरी कर्मचारीहरूलाई आँखा स्वास्थ्य जाँच गरी परामर्श तथा चस्मा उपलब्ध गरी सहयोग पुर्याएकोमा तिलगंगा आँखा प्रतिष्ठानलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट धन्यवाद समेत व्यक्त गरे ।
मन्तव्यको क्रममा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारीले नेपालमा ठुलो जनसङ्ख्यामा दृष्टि दोषको समस्या देखिएको वर्तमान अवस्थालाई रोकथाम तथा न्यूनीकरणका लागि सबै पक्षहरूले सहकार्य गर्दै समुदाय स्तरमै जनचेतना अभिवृद्धि गर्न आवश्यक भएको औँल्याउँदै सडकको धुलो धुवाँलाई सहन गर्दै देश र नागरिकको सेवामा अग्र पङ्क्तिमा खटिने नेपाल प्रहरीको स्वास्थ्य सम्बन्धमा सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे ।

आँखा स्वास्थ्य शिविरबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतका कूल ४५० जना प्रहरी कर्मचारीहरू लाभान्वित भएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, तिलगंगा आँखा प्रतिष्ठानका प्रतिनिधिहरू, लायन्स क्लबका प्रतिनिधिहरू लगायत अन्य प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।



About Us
प्रतिक्रिया