काठमाडौं – साइबर अपराधको आरोप लागेका नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतसँग आज साइबर ब्युरोले सोधपुछ गरेको छ। प्रहरीले उनलाई काठमाडौंको भोटाहिटीस्थित साइबर ब्युरोमा उपस्थित हुन बोलाएर बयान लिएको हो।साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार बस्नेतसँग विद्युतीय कारोबार ऐनअन्तर्गत शोभा पाठकले दर्ता गरेको जाहेरीबारे सोधपुछ गरिएको हो। बस्नेत बुधबार बिहान ब्युरोमा उपस्थित भएर बयान दिएका हुन् ।
बस्नेतविरुद्ध शोभा पाठकले दायर गरेको जाहेरी यसअघि सरकारी वकिल कार्यालयले ब्युरोको आग्रहमा तामेलीमा राखेको थियो। तर, हालै सरकारी वकिल कार्यालयले असोज ५ गते साइबर ब्युरोलाई पुनः अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो। उक्त निर्देशनपछि प्रहरीले बस्नेतलाई पक्राउ गर्न अनुमति मागेको थियो, तर काठमाडौं जिल्ला अदालतले ‘थप प्रमाण’ पेस गर्न भनिएको थियो। त्यसअनुसार अनुसन्धान टोलीले प्रमाण संकलनसँगै बस्नेतलाई बयानका लागि बोलाएको हो।
सोधपुछका क्रममा बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका अभिव्यक्तिहरू, विशेष गरी शोभा पाठकलाई लक्षित गरेर लेखिएको भनिएको सामग्री र ‘महेश बस्नेत फ्यान क्लब’ नामक समूहमा पोस्ट गरिएका टिप्पणीबारे अनुसन्धान भइरहेको बताइएको छ। पाठकले बस्नेतविरुद्ध सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको भन्दै प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् ।



About Us
प्रतिक्रिया