अख्तियारका प्रमुख आयुक्त राईको राजीनामा माग गर्दै जेनजी अलायन्सले बुझायो पत्र 


काठमाडौं – जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै आज आयोगमै औपचारिक पत्र बुझाएको छ । समूहले आज टंगालस्थित आयोगको केन्द्रीय कार्यालय पुगेर लिखित रूपमा राजीनामाको माग गर्दै पत्र दर्ता गराएको हो।

यसअघि समूहले प्रमुख आयुक्त राईलाई इमेलमार्फत स्वेच्छिक राजीनामाको आग्रह गरेको थियो। तर, आज भौतिक उपस्थितिमै उनीहरूले आफ्नो मागलाई औपचारिक रूप दिएका हुन्। 

पत्रसँगै सार्वजनिक गरिएको विज्ञप्तिमा जेनजी मुभमेन्ट अलायन्सले प्रमुख आयुक्त र अन्य आयुक्तहरूको नियुक्ति निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाबिना गरिएको आरोप लगाएको छ। उनीहरूका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ नगरी नियुक्ति गरेकोले आयोगको विश्वसनीयता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘विशेष अदालतको पछिल्लो फैसलामा प्रमुख आयुक्त राईमाथि स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजनको टिप्पणी आएको छ, जसले उनको निष्पक्षतामाथि गम्भीर शंका उत्पन्न गराएको छ।’ समूहले प्रमुख आयुक्त राईको नाम नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी विमान खरिदजस्ता ठुला घोटालासँग जोडिँदै आएको दाबी गर्दै नैतिक जिम्मेवारी स्वरूप तुरुन्त राजीनामा दिनुपर्ने माग गरेको छ।