गृहमन्त्री अर्यालद्वारा सीआईबीको अनुगमन, रोकिएका मुद्दा अनुसन्धानमा ‘ब्रेक थ्रु’ हुने घोषणा


काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । सीआईबीको अनुगमनका क्रममा उनले  रोकिएका महत्त्वपूर्ण फाइलहरू अब अघि बढ्ने घोषणा गरेका हुन् ।

हालैको जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले तोडफोड गरेका लाजिम्पाटस्थित सीआईबी कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले आर्थिक अपराध र राजनीतिक संरक्षणमा अड्किएका मुद्दाहरू ‘ब्रेक थ्रु’ हुने घोषणा गरेका हुन् । 

‘अब ब्रेक थ्रु हुन्छ,’ गृहमन्त्री अर्यालले सीआईबीका अधिकारीहरूलाई निर्देशन दिँदै भने, ‘राजनीतिक कनेक्सनको आधारमा अवरोध आइरहेको अनुसन्धान अब अघि बढ्छ।’

यसैबीच, मन्त्रिपरिषद्को निर्णयअनुसार सीआईबीको प्रमुखमा एआईजी डा। मनोज केसीलाई सरुवा गरिएको थियो ।  नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कमान्ड गरिसकेका केसीले सीआईबीको नेतृत्व सम्हालेपछि, गृह मन्त्रालयले आर्थिक अपराध र भ्रष्टाचारका मुद्दामा कडाइ गर्ने स्पष्ट संकेत दिएको छ। गृहमन्त्री अर्यालले भुटानी प्रकरणसहित रोकिएका फाइलहरूको अनुसन्धान अघि बढ्ने समेत बताएका छन्। 

एआईजी मनोज केसी त्यही प्रहरी अधिकारी हुन्, जसले एसएसपी हुँदा नै नक्कली भुटानी शरणार्थी प्रकरणको पहिलो फाइल खोलेका थिए।