काठमाडौं – बडादसैं ठुलो चाड भएकाले अरू महिनाभन्दा बढी पैसा चाहिने हुन्छ । त्यसैले सरकारी तथा निजी कम्पनीले यहीँ समयमा कर्मचारीलाई बोनस र पेस्की वितरण गर्छन् । कतिपयले दसैँमा मात्र नेपालीहरूलाई आफूले वर्ष भरीमा कमाएको रकमको लगभग ४० प्रतिशतसम्म दसैंमा खर्च गर्छन् । कसैले त ऋण काढेर पनि दसैं खर्च जुटाउने गर्छन् ।
गृहप्रवेश, घरमा नयाँ समान ल्याउने, नयाँ लुगा किन्ने, मिठो खानेकुरा खाने, रमाइलो गर्नुका साथै टिका लगाउने दक्षिणा दिने जस्ता विभिन्न प्रयोजनका लागि अधिक खर्च गर्ने प्रवृत्ति छ । भुक्तानी प्रणालीलाई डिजिटल माध्यमले सहजीकरण गर्न थालेपछि मानिसलाई झन् खर्चिलो बनाइरहेको छ । तर, यहीँ सहज प्रविधिको प्रयोगमा सावधानी नअपनाए दसैंतिहार नै खल्लो बन्ने जोखिम आउन सक्छ ।
ह्याकर तथा अनलाइन ठगहरूले (स्क्यामर) पैसाको बढी कारोबार हुने समयमै मौका छोप्ने योजना बनाइरहेका हुन्छन् । हामीले विभिन्न समान किन्दा वा मोबाइल बैंकिङ्ग र वालेटहरू चलाउँदा विशेष ध्यान दिनुपर्ने हुन्छ । ह्याकरले हाम्रो इच्छालाई जानेर फसाउने जालो बुनेका हुन्छन् ।
साथै, दसैं नजिकिँदै गर्दा डिजिटल ठगीका घटना बढ्ने सम्भावना उच्च हुन्छ। किनकि यो समय धेरै मानिसहरू किनमेल, पैसा पठाउने, अफरहरू भुक्तानी गर्ने जस्ता कार्यमा व्यस्त हुन्छन् । सोही अवसरमा साधारणको मोबाइल वालेट र अनलाइन बैंकिङ्ग प्रणाली ह्याक गर्न व्यक्तिहरू पनि सक्रिय हुन्छन् ।
बैंक, मोबाइल वालेट वा कुनै अनलाइन अफरका नाममा आएको अज्ञात लिंक खोल्नुअघि ध्यान दिनुपर्छ किनकी अधिकांश फिसिङ ठगी यस्ता नक्कली लिंकबाट सुरु हुने गर्छ । एक पटकको क्लिकले गर्दा आफ्नो खातामा भएको रकम र महत्त्वपूर्ण डाटा ह्याकरको हातमा पुग्ने भएकाले गर्दा यस्ता लिंकहरु खोल्नु हुँदैन ।
कुनै पनि आधिकारिक संस्थाले कहिल्यै तपाईँसँग ओपीटि वा पिन नम्बर माग्दैन । यस्तो जानकारी माग्ने व्यक्तिहरू ठग हुन सक्छन् । त्यसैले गर्दा म यो बैंक वा वालेट कम्पनीबाट बोलेको भन्दै फोन गरेमा उक्त संस्थाको पेजमा भएको आधिकारी नम्बरमा फोन गर्नुपर्छ । साथै, नजिकैको प्रहरी चौकीमा खबर गर्नुपर्छ ।
त्यस्तै, ‘तपाईँले लट्री जित्नुभयो’,‘स्मार्टफोन जित्नुभयो’ भन्ने मेसेजमा क्लिक नगर्नुहोस् । यस्ता अफरहरू प्रायः ठगीका माध्यम हुन्छन् । सुरक्षित रहन तपाईँले प्रयोग गर्ने मोबाइल वालेट वा बैंक एप समयमै अपडेट गर्नुपर्छ । पुराना संस्करणहरूमा सुरक्षा कमजोरी हुनसक्छ ।
कुनै पनि भुक्तानी गरेपछि त्यसको रेकर्ड वा स्क्रिन सट राख्दा पछि ठगी भएमा प्रमाणका रूपमा उपयोग गर्न सकिन्छ । कुनै शंकास्पद फोन, मेसेज वा ट्रान्जेक्सन देखेमा तुरुन्त सम्बन्धित बैंक वा प्रहरीको साइबर ब्यूरोमा सम्पर्क गर्नुपर्छ ।






About Us
प्रतिक्रिया