काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो महिनासम्मको अवधिमा नेपालले विदेशबाट ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँको आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्ष २०८२/८३ साउन र भदौको अवधिमा ३ खर्ब ५ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको हो ।
यो गत आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको अवधिमा १६.२३ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको यही अवधिमा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको आयात भएको थियो । यस्तै, यस अवधिमा नेपालको निर्यात ८८.५७ प्रतिशत बढेको छ ।
यस अवधिमा नेपालबाट ४७ अर्ब ३१ करोड रुपैयाँको निर्यात भएको छ । जबकी, गत आर्थिक वर्षको साउन र भदौमा जम्मा २५ अर्ब ९ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको थियो । यसआधारमा यो वर्षको दुई महिनामा नेपालको कूल २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँको व्यापार घाटा छ । यो गत वर्षको तुलनामा ८.५९ प्रतिशतको वृद्धि हो ।
यस्तै, यस अवधिमा ३ खर्ब ५२ अर्ब ४७ करोड रुपैयाँको कूल वैदेशिक व्यापार भएको छ । यो गत वर्षको तुलनामा २२.५४ प्रतिशतको वृद्धि हो ।



About Us
प्रतिक्रिया