दसैंको टीका आज, नयाँ नोटको सट्टा सुकिला नोट


काठमाडौं – नेपालीहरूको जीवनमा वर्षभरि पर्खिएर हर्षोल्लासका साथ मनाइने चाड हो, बडादसैं । बिहानैदेखि घर–घरमा पूजापाठ गरेर नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने परम्परा आज पनि निरन्तर चलिरहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टिकाको उत्तम साइत बिहान ११ः५३ बजे रहेको छ । सो समयमा लगाइमाग्ने पूर्व दिशातर्फ फर्किनुपर्ने मान्यता छ ।

आजको दिन घर–घरमा रातो टीका, हरियो जमरा र मान्यजनको आशीर्वादले वातावरण नै उत्सवमय बनेको छ । मान्यजनबाट पाइने दक्षिणा पनि दसैंको विशेष आकर्षण हो। तर यस वर्ष दक्षिणामा नयाँ नोट पाइने छैन। राष्ट्र बैंकले २०६०/६१ सालदेखि दसैं–तिहारमा नयाँ नोट वितरण गर्दै आएकोमा यस पटक भने नयाँ नोट नछपाइएकाले सुकिला नोटमै सीमित हुन पुगेको छ ।

दसैं नेपाली समाजमा केवल धार्मिक चाड मात्र होइन, परिवारलाई नजिक ल्याउने अवसर पनि हो । वर्षभरि विदेश वा टाढा रहेका आफन्तहरू पनि यसै अवसरमा भेटघाट गर्न मान्यजनकहाँ पुग्छन्। घर फर्किने यात्राको भीड, गाउँघरमा पिङ खेल्ने रमाइलो, शहरमा चंगा उडाउने प्रतिस्पर्धा—यी सबैले दसैंलाई अझै जीवन्त बनाउँछन् ।

यस चाडको आध्यात्मिक अर्थ अझ गहिरो छ। विजया दशमीलाई असत्यमाथि सत्यको विजय, अन्धकारमाथि प्रकाशको विजय र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मानिन्छ । यही कारण दसैंलाई शुभ–शक्ति र समृद्धिको प्रतीक मानिन्छ । यसरी, टीका र जमरा मात्र होइन, संस्कार, भेटघाट, रमाइलो र पारिवारिक एकताले दसैंलाई सम्पूर्ण नेपालीहरूको साझा चाड बनाएको छ ।