काठमाडौं – भदौ २३ गते जेनजी समूहद्वारा आयोजित विरोध कार्यक्रमका क्रममा उत्पन्न असामान्य अवस्थाबीच ललितपुरको कुपण्डोलस्थित प्रहरी प्रभाग हनुमानस्थानमा भएको तोडफोड तथा आगजनी घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार, भदौ २४ गते ललितपुर महानगरपालिका–१० कुपण्डोलमा रहेको प्रहरी प्रभागमा अज्ञात समूहले तोडफोड तथा आगजनी गर्दै सरकारी सम्पत्ति र प्रहरी कर्मचारीहरूको व्यक्तिगत पोसाक तथा अन्य सामानमा समेत क्षति पुर्याएका थिए।
घटनापछि प्रारम्भ गरिएको अनुसन्धानको क्रममा विशेष सुराकी, सामाजिक सञ्जालमा सार्वजनिक भएका फोटो तथा भिडियोहरूका आधारमा संलग्न व्यक्तिहरूको पहिचान गरिएको प्रहरीले जनाएको छ।
यसै क्रममा कुपण्डोल क्षेत्रबाट दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२, सानेपामा बसोबास गर्दै आएकी वर्ष २४ की सृष्टी तामाङ र बैतडीको मलौली नगरपालिका–९ घर भई हाल ललितपुर महानगरपालिका–१०, कुपण्डोलमा बस्दै आएका वर्ष २४ का धिरेन्द्र चन्द रहेका छन् ।
उनीहरूलाई हाल ललितपुर जिल्ला प्रहरी परिसरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य तीव्र पारिएको जनाएको छ।






About Us
प्रतिक्रिया