काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले विद्युत बजारको अभाव देखाएर उत्पादन रोक्नु देशका लागि दीर्घकालीन समस्या हुने चेतावनी दिएका छन्।
बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बधाई तथा मागपत्र बुझाउने क्रममा मन्त्री घिसिङले देशलाई अझै २०–३० हजार मेगावाट बिजुली आवश्यक पर्ने बताउँदै निजी क्षेत्रलाई लगानी विस्तारका लागि प्रोत्साहित गर्ने आश्वासन दिए।
‘बिजुलीको बजार छैन भन्ने होइन, बजार सिर्जना गर्ने हो। अहिले उत्पादन रोक्ने हो भने १० वर्षपछि ठूलो समस्या आउँछ,’ मन्त्री घिसिङले भने।
हाल नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता (पीपीए) रोकिराखेको भन्दै इप्पान अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रको मनोबल उच्च बनाउन आग्रह गरेका थिए। यसबारे प्रतिक्रिया दिँदै मन्त्री घिसिङले नियमावलीदेखि ऐनसम्म परिवर्तन गर्नुपर्ने भए पनि अघि बढाउने प्रतिबद्धता जनाए।
वन क्षेत्रलाई ऊर्जा र पूर्वाधार विकासको ठूलो अवरोधका रूपमा चिन्दै उनले प्रधानमन्त्रीसँग छलफल गरेर समाधान निकाल्ने बताए। साथै, इप्पानलाई पनि ठोस समस्या र समाधानसहित अघि बढ्न आग्रह गरे।
मन्त्रीले पीपीए, आरसीओडी म्याद थप र कन्टिन्जेन्सी व्यवस्थाबारे सरकार सचेत रहेको उल्लेख गर्दै, ‘निर्णय गर्ने ठाउँमा पुगेका छौं, अब समस्याबाट नभागी समाधानतर्फ लाग्छौं,’ भने।
इप्पानले मन्त्रालय, विद्युत विकास विभाग र प्राधिकरणसँग सम्बन्धित बुँदागत मागहरू अघि सारेको छ। जसमा इआईएरआइईई प्रक्रियामा सहजीकरण, विद्युत खपत वृद्धिको योजना, निजी क्षेत्रलाई प्रसारण लाइनमा सहभागी गराउने, रोकिएका जलविद्युत कम्पनीका शेयर निष्काशन अघि बढाउनेदेखि लिएर पीपीए प्रक्रिया तत्काल सुरु गर्ने माग समावेश छन्।



About Us
प्रतिक्रिया