काठमाडौं – चाडपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । काठमाडौंको नयाँ बसपार्कमा आयोजित विशेष कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा नागरिक सहायता कक्षको औपचारिक उद्घाटन गरिएको हो।
कार्यक्रममा बोल्दै एआईजी कार्कीले देशको वर्तमान चुनौतीपूर्ण परिस्थितिका बीच पनि प्रहरी सङ्गठनले सेवा प्रवाहलाई प्रभावकारी बनाउने अनेक प्रयास गरिरहेको उल्लेख गर्दै नागरिक सहायता कक्षले चाडपर्वमा हुने यात्रालाई व्यवस्थित, सुरक्षित र सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले यात्राको समयमा ट्राफिक व्यवस्थापन, जानकारी आदान–प्रदान तथा सर्वसाधारणको गुनासो सुन्न र समाधान गर्न सहायता कक्ष उपयोगी हुने बताए।
काठमाडौं उपत्यकाका १३ स्थानमा स्थापना गरिएका सहायता कक्षहरूमा प्रहरी कर्मचारीसहित ट्राफिक प्रहरी, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवाला निकायका सदस्यहरू परिचालन हुने जनाइएको छ। सहायता कक्षमार्फत यात्रुहरूको लागि रुट, भाडा, सवारी उपलब्धता लगायतका जानकारी सहज रूपमा उपलब्ध गराइनेछ।



About Us
प्रतिक्रिया