काठमाडौं – जेनजी आन्दोलनका क्रममा कारगारमा तोडफोड र आगजनी गरेर भाग्न खोज्ने १० जना कैदीबन्दीको प्रहरीको गोली लागेर ज्यान गएको छ । बाँकेमा रहेको बालसुधार गृह-९ बस्ताबाट भाग्ने ५ जना, जिल्ला कारागार रामेछापबाट भाग्ने ३ जना र जिल्ला कारागार धादिङबाट २ जना गरी १० जनालाई प्रहरीका गोली लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
बालसुधार गृह नौबस्तामा रहेका नाबालक बन्दीहरू अछाम घर भएका २१ वर्षीय उमेश विष्ट, दाङ घर भएका २० वर्षीय दिनेश घर्तिमगर, बाँकेका २० वर्षीय समीर थापा, कैलाली घर भएका १९ वर्षीय जगत देउवा र दैलेख घर भएका २१ वर्षीय भूपेन्द्र खत्री ज्यान गएको छ ।
साथै, जिल्ला कारागार रामेछापबाट भाग्ने क्रममा मोरङ घर भएका ५१ वर्षीय राजकिशोर यादव, धनुषाका ५८ वर्षीय बिरु धोबी र धनुषाकै ४० वर्षीय मनोज महतोको मृत्यु भएको छ । त्यस्तै, जिल्ला कारागार धादिङबाट जेल तोडेर भाग्ने क्रममा सेनाले चलाएको गोली लागेर धादिङको बेनिघाट घर भएका ६१ वर्षीय जित बहादुर घले र पूर्व नवलपरासीका ३६ वर्षीय इन्द्र बहादुर डालाको ज्यान गएको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया