काठमाडौं । बैंकिङ्ग समाचार भदौ २३ गतेको शान्तीपूर्ण आन्दोलनलाई हिंसामा परिणत गर्दै हत्या गर्ने सरकारको विरोधमा उत्रिएका देशव्यापी आन्दोलनको साथमा उत्रिएको छ । शान्तीपूर्ण आन्दोलनमा प्रहरी दमन गर्दै १९ जनाको हत्या गर्ने सरकारविरुद्ध यतिबेला देशव्यापी आन्दोलन चर्किएको छ । यहीकारण, हत्याको विरोध गर्दै र राजनीतिक नेतृत्वले तत्काल पदबाट राजिनामा दिँदै राजनीतिक निकास दिनुपर्ने निष्कर्षसहित बैंकिङ्ग समाचार जेनजीको साथमा उत्रिएको हो ।
खासगरी, नेताले जिइरहेको जिवनशैली, उनीहरुका नातेदारको दैनिकको हिसाब खोज्दै शान्तीपूर्ण आन्दोलनमा उत्रिएका हजारौं युवालाई छानीछानी सरकारले हत्या गरेको थियो । टाउको र छातीमा गोली हानेर हत्या गरेको थियो भने ५०० भन्दा बढीलाई घाइते भएको छ । यसको विरोधस्वरुप आज विहानैदेखि लागेको निषेधाज्ञाको बेवास्ता गर्दै हजारौं सर्वसाधारण सडकमा छन् ।
उनीहरुको आक्रोसित भिडले नेताका घर, सम्पत्ति, गाडी र भेटेसम्म नेतालाई नै भौतिक आक्रमण गर्ने तयारीमा छन् । तर, यो आन्दोलन आन्दोलन मात्रै नभएर वर्षौंदेखि राजनीतिक दल र तीनका विरुद्ध चालिएको विरोधकको आवाज हो । यसबाहेक, आफ्ना भाईबहिनी, छोराछोरी र साथिलाई सरकारले छानीछानी मारेपछि त्यसको बदल लिन निस्किएको भिड हो । यहीकारण, बैंकिङ्ग समाचार जेनजी आन्दोलनको साथमा उभिएको छ ।
किनकी, राज्य दमन, भ्रष्टाचार, घुसखोरी, नाताबाद र कृपाबादबाट सर्वसाधारण आजित भइसकेका छन् । शान्तीपूर्ण आन्दोलन गर्दै देशको भविष्यको चिन्ता गर्दै सडकमा उत्रिएका किसोर किसोरीलाई छाताीमा गोली हान्ने सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिनुपर्ने धारणा बैंकिङ्ग समाचारले यसअघि नै सार्वजनिक गरिसकेको छ । यहीकारण, बैंकिङ्ग समाचार फिल्डमा खटिएरै हातमा हात मिलाउन नसकेपनि समाचारमूलक सामाग्री र कन्टेन्ट क्रियसनको माध्यमबाट जेनजीको साथमा उभिएको छ ।
तर,यति भन्दै गर्दा आन्दोलनमा संयमता अपनाउन, बिरामी ओसार्ने एम्बुलेन्स, दमकल र सरकारी भवनहरुमा सकेसम्म न्यून क्षतिका लागि समेत बैंकिङ्ग समाचार परिवार आह्वान गर्छ । किनकी, सरकारी भौतिक सम्पत्ती तपाईँ हाम्रै करबाट निर्मित संयन्त्र हुन् । जसको क्षतीले भविष्यमा हामीलाई नै घाटा हुने हो । यसबाहेक, आन्दोलनका क्रममा आफ्नो ज्यान जोगाउन र सर्वसाधारणलाई क्षतिसम्पत्ति नगर्न समेत बैंकिङ्ग समाचारको आग्रह छ ।



About Us
प्रतिक्रिया