घर तोडफोड र आगजनी भइरहँदा कहाँ लुकेका छन् शीर्ष नेताहरू, हेलिकप्टरबाट भइरहेको छ उद्दार


काठमाडौं – प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको निजी निवास तोडफोड र आगजनी भइरहेका छन् । बिहानै आन्दोलनकारीले कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा आगजनी गरेका थिए ।

सुरुमा प्रहरीले भिडलाई रोक्ने प्रयास गरे पनि पछि ठूलो संख्यामा गएका आन्दोलनकारीले देउवा निवासमा आगजनी गरेका थिए । तर, बिहानै निवासबाट निस्किएका देउवा कहाँ छन् भन्ने जानकारी उपलब्ध छैन । राष्ट्रपति रामचन्द्र पौडेलको बालाजु बोहोराटारस्थित निवासमा पनि आगजनी भइसकेको छ ।

त्यस्तै खुमलटारमा जम्मा भएका प्रदर्शनकारीहरूले प्रचण्ड निवास पुगेर त्यहाँ ढुंगामुढा गरेको ललितपुर प्रहरीले जनाएको छ। तर, उनी अहिले कता छन् भन्ने जानकारी उपलब्ध छैन । कांग्रेसका महामन्त्री गगनकुमार थापाको निवासमा आगजनी गरिएको थियो । ललितपुरकै सुनाकोठीमा रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङको घर पनि तोडफोड भएको छ। एमाले नेता महेश बस्नेतको भक्तपुर गुण्डुमा रहेको घरमा पनि तोडफोड भएको छ ।

सेनाको हलेकप्टरबाट हुन थाल्यो उद्दार

शीर्ष नेताहरू तथा मन्त्रीहरूमाथि आक्रमण हुने थालेपछि सेना र निजी हेलिकप्टरमार्फत उनीहरूको उद्दार भइरहेको छ । बालुवाटार र विभिन्न स्थानबाट सेनाको हेलिकप्टर पटकप६क अवतरण भएको छ । यद्यपि उद्दार गरिएका नेताहरूलाई कुन स्थानमा लगिएको छ भन्ने सूचना बाहिरिएको छैन । सामाजिक सञ्जालमा उनीहरूलाई नेपालबाट भगाएर विदेश भगाउन खोजिएको आशंकासहित टिप्पणी भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे बस्ने गरि सर्वदलीय बैठक आह्वान गरिसके ।