बैंकिङ्ग प्रणालीमा तरलताको चाप यथावत्, ४२ दिनको लागि ४५ अर्ब तान्दै केन्द्रीय बैंक 


काठमाडौं – बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज असार २२ गते आइतबार बजारबाट ४५ अर्ब खिच्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ४२  दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिच्ने भएको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट  इजाजतपत्र प्राप्त ‘क, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । 

केन्द्रीय बैंकले असार २२  गते मध्यान्ह ३ बजेसम्म अनलाइन मार्फत मात्र बोलकबोल हुने बताएको हो । केन्द्रीय बैंकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिने छ ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ ।

यसको सावा तथा ब्याज भदौ १ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले असार लागेसँगै यो सातौ पटक  निक्षेप संकलन लागेको हो । यसअगाडि असार १ गते ४० अर्ब रुपैयाँ, ४ गते ९० अर्ब रुपैयाँ,८ गते ६० अर्ब रुपैयाँ, ११ गते ५० अर्ब रुपैयाँ, १५ गते ३० अर्ब रुपैयाँ, १८ गते ६० अर्ब रुपैयाँ तरलता तानेको  थियो।