काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले नागरिक एपबाटै व्यवसाय दर्ता र ऋण लिने व्यवस्था गर्नुपर्ने बताएको छ । नेपाल राष्ट्र बैंकले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्न राय सुझाव लिन आयोजित कार्यक्रममा महासङ्घको तर्फबाट सुझाव पेस गर्दै वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ यस्तो बताएका हुन् ।
महासंघले पूर्वाधार लक्षित मौद्रिक सहजीकरण योजना सञ्चालन गर्नुपर्ने भन्दै आगामी आर्थिक वर्षको बजेटमा समावेश भएको कर्जाको पुन तालिकीकरण र पुन संरचना तथा साना र मझौला उद्योगमा लगानी बढाउने गरी खाका तयार गर्नुपर्ने उल्लेख गरेको छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अर्थतन्त्रमा उद्योगको हिस्सा निरन्तर घटेको समयमा व्यवसायीहरूले तिर्ने ब्याजदर कम हुनुपर्नेमा जोड दिनुपर्ने बताए ।
महासंघले महिला उद्यमशील कर्जालाई उत्पादनसँग जोडेर ब्याज अनुदान दिने व्यवस्थालाई व्यवस्थित बनाउनुपर्ने बताएको छ । ‘उद्योगी व्यवसायीलाई प्रवाह हुने ५ प्रतिशतसम्मको कर्जालाई अधिकतम २ प्रतिशतसम्म प्रिमियम तिर्ने व्यवस्था हुनुपर्छ’ महासंघले भनेको छ, ‘युवा पुस्ता व्यवसाय दर्ता लगायतका कारण व्यवसायमा आउन सकेको छैन । यस्तो समयमा नागरिक एपबाटै व्यवसाय दर्ता र निश्चित रकम कर्जा प्रवाह गर्न सकिने अवस्था छ ।’
वैदेशिक रोजगारबाट फर्किएपछि पाउने हालको सहुलियतपूर्ण कर्जालाई वैदेशिक रोजगारीमा रहेकै समयमा पनि परिवारले पाउने गरी दिने व्यवस्था बनाउनुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपाल राष्ट्र बैंकले लिएको लक्षित कर्जा नीतिबाट अपेक्षित कर्जा लगानी बढ्न नसक्ने भन्दै यसलाई परिमार्जन गर्नुपर्ने बताए । उनले सहकारी र लघुवित्तको समस्या समाधान गरी बैंकिङ्ग सेवा गाउँ गाउँमा पनि प्रभावकारी बनाउनुपर्ने बताए ।



About Us
प्रतिक्रिया